त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र मुख्य विद्यार्थी संगठनका प्रतिनिधिबीचको छलफलमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भएको हो । चुनावी कार्यक्रम अनुसार बिहीबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने तालिका थियो ।
‘विद्यार्थी संगठनहरुबीच सहमति नभएपछि २३ गतेको चुनाव स्थगित भएको छ’ त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद शाखाका प्रमुख गंगाबहादुर थापाले अनलाइनखबरसित भन्नुभयो-’अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको छ ।’ विद्यार्थी संगठनहरुबीच सहमति भएर छिटो चुनाव भएमा अहिलेको प्रकृया फेरि शुरु हुने उहाँले जानकारी दिनुभयो । तर, अर्को चुनावको तिथि कहिले टुंगो लाग्छ भनेर यसै भन्न नसकिने उहाँको भनाइ छ ।
‘तालाबन्दी खोल्ने बिषयमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भयो’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले अनलाइनखबरसित भन्नुभयो- ‘अहिलेसम्मका सबै गृहकार्य र मेहनत खेर गयो ।’ चुनाव स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकअर्कालाई दोष लगाएका छन् । एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र बैद्य माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले आआफ्नो पकड भएका क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेपछि समस्या उत्पन्न भएको हो । तर सबैले आफ्नो संगठनबाट नभएर अर्को विद्यार्थी संगठनले फर्जी भर्ना गरेको आरोप लगाएका छन् ।
यसैवीच स्ववियु स्थगन गर्ने बैठकमा सहभागी भएको एमाओवादी समर्थित अखिल क्रान्तिकारी स्ववियु चुनाव स्थगनको विरोध गरेको छ । ‘जुनसुकै हालतमा पनि चुनाव गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’- क्रान्तिकारीका केन्द्रीय नेता मदन अर्यालले अनलाइनखबरसँग भन्नुभो । त्यसैगरी एमाले अनेरास्ववियू नेतृ राधिका खड्काले पनि चुनाव स्थगनको विरोध गर्दै अर्को तिथि तत्काल तोकिनुपर्ने बताउनुभएको छ ।
उता नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ऋषिकेश शाहले दुई अखिलका कारण स्ववियु निर्वाचन स्थगित भएको आरोप लगाउनु भयो । शाहले अनलाइनखबरसंग भन्नुभयो,’दुई अखिलका कारण चुनाव स्थगित भएको हो । हामीलाई यो स्विकार्य छैन । हामी नेविसंघ अब कडा आन्दोलनमा जान्छौ ।’ चुनाव स्थगन गर्ने बैठकमा एमाओवादी, एमाले, कांग्रेस र वैद्य माओवादी समर्थित विद्यार्थी संगठनका नेताहरुको सहभागिता थियो ।
No comments:
Post a Comment