Thursday, May 30, 2013

‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’

कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

पुस्तक चिना हराएको मान्छेको सेरोफेरोमा रहेर कलाकार हरिवंश आचार्यसँग उज्यालो अनलाईनका लागि दीपेन्द्र खनियाले गरेको कुराकानीको सारसंक्षेपः

‘चिना हराएको मान्छे’ सार्वजनिक गरेपछि मीरा भाउजुलाई कति सम्झनुभयो ?

खुब सम्झेँ । ऊ यतै कतै छ जस्तो लाग्छ । हाँसिरहेको जस्तो लाग्छ । अनि रमिलालाई केही कुरा भनिरहे जस्तो लाग्छ । मसँग कहिले काहीँ ठुस्की रहेको जस्तो लाग्छ । कहिले गाली गरिरहेको जस्तो लाग्छ । छिनछिनमा, पलपलमा सम्झिरहन्छु । म ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा त उसैलाई सम्झिन्छु । कुनै भाँडा देख्यो भने पनि उसले किनेको हो भन्ने हुन्छ । कुनै जुत्ता देख्यो भने पनि उसले किनिदिएको जुत्ता हो भन्ने हुन्छ । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।
मलाई आत्मा भन्ने कुरामा विश्वास लाग्दैन । त्यसैले मीराको आत्मा भनेको पनि हामीले सम्झने यादहरु मात्रै हो । कथम् कदाचित आत्मा भन्ने कुरा रहेछ भने म सम्हालिएको देखेर उनी खुसी नै हुन्छिन् होला किनभने उसलाई सबैभन्दा धेरै चिन्ता नै मेरो थियो । म अलिकति बिरामी हुँदा पनि उनी धेरै चिन्ता गर्थिन् । उनलाई थाहा थियो आफु मुटुको रोगी छु भन्ने कुरा । त्यसैले कहिले काहीँ धड्नकन बढ्ना साथ उनलाई अब म रहन्न कि भन्ने पिर लाग्दो रहेछ । उनलाई आफ्नो भन्दा पनि मेरो नै ठुलो चिन्ता थियो ।

मीरा केयर फाउन्डेसन, मीरा केयर सेन्टर पहिला जन्म्यो कि चिना हराएको मान्छे ?

जन्मिन त मीरा केयर सेन्टर पहिले जन्म्यो । जब मीराको भौतिक शरीर हामीसँग रहेन, त्यसपछि मैले के विचार गर्थे भनें उसलाई मर्न दिन्न म उसलाई बचाई राख्छु । मान्छे त जो पनि जन्मेपछि मर्दछन् । सायद म पहिले मरेको भए उनी बाँच्थिन होला । म पहिले मरेको भए उनको सम्झनाको चाँजोपाँजो नमिल्न पनि सक्थ्यो । मीराको सम्झनामा एउटा सामाजिक काम गर्छु भन्दा मीरा केयर सेन्टर जन्मेको हो । त्यसैले चिना हराएको मान्छे भन्दा मीरा केयर सेन्टर जेठो हो । नाम चाहिँ हामीले पछि राखेका हौं ।

चिना हराएको मान्छेको बिक्रिबाट प्राप्त हुने सबै रोयल्टी मीरा केयर सेन्टरमा जान्छ ?

दुई हजार एडिसन कपी छ त्यसको मुल्य दुई हजार रुपैयाँ राखेका छौँ । त्यसबाट ४० लाख रुपैयाँ उठाउने हाम्रो लक्ष्य छ । त्यो शतप्रतिशत त्यसमै जान्छ । कुनै दायाँबायाँ गर्दैनौं । पुस्तकबाट आउने रोयल्टीको पाँच लाख रुपैया मैले मीरा कयर सेन्टरको लागि हस्तान्तरण पनि गरिसकेँ । चिना हराएको मान्छेको जति रोयल्टी आउँछ त्यसका बारेमा अहिलेसम्म मैले के गर्ने भन्ने निर्णय गरिसकेको छैन, तर जहाँसम्म मलाई लाग्छ सबै त्यही सेन्टरमा जान्छ । मीरा केयर सेन्टरलाई सबैको साझा संस्था बनाउने लक्ष्य छ । त्यसमा अरुले पनि सहयोग गर्न सक्छन् । त्यसमा पूरै पारदर्शिता अपनाईनेछ । हरेक खर्चका बारेमा जानकारी दिईनेछ । त्यसलाई वेबसाईटमा पनि राख्नेछौं ।

कस्तो काममा केन्द्रित हुनेछ मीरा केयर सेन्टर ?

मीरालाई बच्चा असाध्यै मन पर्थ्यो । त्यसैले म पनि बच्चा जस्तो थिए । अहिले पनि बच्चा जस्तै छु । व्यवहार अझै बच्चा जस्तै छ । हामी नयाँ बजारमा घट्टेकुलोमा बस्दा पनि त्यो अनाथाश्रम सञ्चालन गर्ने मान्छेहरु आउँदा रहेछन् । उनीहरुलाई मीराले कसैलाई चामल, कसैलाई जुत्ता जस्ता कुरा दिईरहन्थिन् । तर त्यसमध्ये एकदुईजनाले चाहिं अनाथाश्रम चलाउने भनेर उठाएको रकम, सामानको सदुपयोग गर्दा रहेनछन् । त्यसैले मैले जथाभावी नदेऊ बुझेर मात्र देऊ, तिमी आफै गएर देउ, जसलाई दिने हो उसैलाई देउ भन्दा पनि उ लुकी लुकी दिने गर्दिरहिछन् । त्यो सबै बच्चाप्रतिको उनको लगावले भएको हो ।
हाम्रो जेठो छोरा त्रिलोक आचार्यले अमेरिकाबाट मीरालाई एक हजार डलर पठाएको थियो, जीवनको पहिलो कमाई भनेर । मीराले त्यसमध्ये १७ हजारको कपडा किनेर जय बाल भोजनका बाल बालिकाहरुलाई बाँडिन् । म पनि गएको थिएँ । त्यसैले उनको बच्चाप्रतिको लगाव धेरै थियो । हामी मीरा केयर सेन्टरमा बच्चा ल्याएर पाल्ने, पढाउने योजनामा त छैनौं तर गर्भावस्था देखि नै आमालाई र बाबुलाई बच्चालाई कसरी सही तरिकाले जन्मदिनु पर्छ ? गर्भवती अवस्थामा के के कुरामा विचार गर्नु पर्छ ? जस्ता कुराको सन्देश दिने छौं । बच्चालाई दवाव दिने बानी छ हाम्रो त्यसलाई सुधार्न आवश्यक छ, बच्चालाई त माया गरेर हुर्काउनु पर्छ । त्यसो गर्न सकिएन भनें बच्चा आफ्नै खुट्टामा उभिन सक्ने हुन्न । कोही बाहिरको मान्छे आयो भने लुक्न जाने, तिम्रो नाम के हो भन्दा टाउको निहुराएर बसिरहने हुन्छ । त्यस्ता बच्चालाई मनमा एकखालको त्रास हुन्छ । तर सुरु देखि नै आत्मविश्वासी बच्चाले भविष्यमा राम्रो गर्न सक्छ । उसको चेतनाको स्तर धेरै राम्रो हुन्छ । बच्चालाई पढाउने मात्रै होईन, खेलाउनु पनि पर्छ । यस्तो काम मीरा केयर सेन्टरले गर्छ । एउटै विद्यालयको राख्ने होईन, कहिले कुन विद्यालयको कहिले कुन विद्यालयको बच्चालाई यसरी राख्नेछौं । चाइल्ड रिच भन्ने एउटा संस्था छ  ईन्टरनेसनल अर्गनाइजेसन, नेपालमा छिरिङ भाईले स्थापना गर्नुभएको छ । त्यससँग सहकार्य गर्दैछौं । त्यसमा विदेशी स्वयंसेवीहरु आएर बच्चाहरुलाई बोल्न सिकाउने, बच्चाको आत्मबिश्वास बढाउन सहयोग गर्नेछन् ।

तपाई त झन्डै पण्डित हुनुभएको रहेछ नी हैन ?

कुनै पनि चिज लेखेको पाईन्छ, देखेको पाईन्न भन्छन् । म पण्डित भएको भए लुकीलुकी  मःम खाने पण्डित हुन्थें होला । मलाई पण्डित हुने गुण प्रकृतिले दिएकै थिएन । मेरो बुबा आमाहरुको इच्छाको कुरा हो । पण्डित बन्ने कुरा मेरो इच्छाले होईन ।

आफैंले लेखेको पुस्तक चिना हराएको मान्छे पढ्नु भयो ?

दिनमा एउटा च्यापटरको हिसावले पढिरहेको छु । पुस्तक पढ्दा यो अरु नै कसैले लेखेको हो जस्तो लाग्छ । तर त्यसको घटना, हरेक हरफ आफुसँग मिलेको जस्तो लाग्छ । पुस्तक पढ्दा मैले कति संघर्ष गरेछु भन्ने लाग्छ । म संघर्ष गर्नै जन्मेको मान्छे हुँ । दुःख पाउनै जन्मेको हुँ । मान्छेले त्यत्रो दुःख सहजै थाम्न सक्दैन मैले असाध्यै दुःख पाएको छु । म आज जुन ठाउँमा पुगेको छु, त्यो संघर्ष सम्झिँदा पनि आनन्द लाग्छ ।

दुःखसँगै माया गर्ने साथी पनि भेटिने रहेछन् नी हैन ?

हो । समयले नै त्यो कुरा दिँदो रहेछ । मलाई दुःख पर्दा साथ दिने साथीहरु थिए । पछि व्यवसायमा साथ दिने मदन दाई जस्तो साथी भेटाएँ । मीरा जस्तो श्रीमती भेटाएँ । अहिले उसैको यत्रो वियोग भोग्नु पर्यो । त्यसपछि फेरि मैले रमिला पाएँ । समयले नै सबै थोक जुटाउँदै जाँदो रहेछ जस्तो लाग्छ ।

पुस्तकका हाँसउठ्दा कुरा ?

खोपासीमा महेश झण्डारीको घरमा बास बस्दा कुकुर बाँधेको थियो तल्लो तलामा । मलाईचाहिँ पिसाबले च्यापेको छ । त्यसपछि मैले झ्यालबाट नै पिसाव गर्न थालें । यो कुरा महेशको आमालाई अहिलेसम्म थाहा छैन । उहाँ अहिले पनि हुनुहुछ । अब पुस्तकको हल्लाखल्ला त हुन्छ । अब कसरी त्यो घरमा जाने ? जाँदा म टाउको निहुर्याएर बसिरहन्छु होला ।
अर्को बैंककमा एकजना मनाङ्गेको भरिया भएर जाँदा भारी बोकेका घटनाहरु पनि रमाईलो लाग्छ, ओहो त्यस्तो पनि भएको थियो भनेर । पहिले विदेश जान त्यत्रो रहर गर्ने मान्छे अहिले विदेशबाट कार्यक्रम गर्न बोलाउँदा जान पाईरहेको छैन ।
मेरो पुस्तकले जस्तोसुकै परे पनि हरेश खानुहुन्न भन्ने सन्देश दिन्छ । मैले त्यत्रो दुःख पाएँ तर मैले प्रयास गर्न कहिल्यै छोडिन । लगावका साथ काम गरेमा अवश्य सफल भईन्छ ।

पुस्तक कुन बेला लेख्नुभयो ? बिहान, बेलुका वा दिउसो ?

धेरैजसो दिउँसो नै लेखें । मीराले छोडेर गएपछि मलाई राति निद्रा नै लाग्दैनथ्यो । त्यसैले म बिहान चाँडै हिंड्थे । एकदिन राति चरा कराए । त्यसपछि उठेर लुगा फेरेर म घडी नै नहेरी हिंडे । म हनुमन्ते पुल नजिक पुग्दा क्याम्पस पढ्ने भाईबहिनीहरु भेटिन्थे । तर त्यो दिन कोही हिंडेको थिएन । आज किन यस्तो भयो भनेर घडी हेरेको त रातिको १ बजेको रहेछ । अरु समयमा भए मलाई डर लाग्थ्यो होला, तर मलाई त्यो दिन कुनै डर लागेन किनभनें सबैभन्दा ठुलो डर ज्यानको न हो । म मेरो ज्यान गए हुन्थ्यो भन्ने सोच्थें । त्यसैले कुनै डर लागेन ।

पुस्तक लेख्ने कुरा सुरुमा कसलाई भन्नु भयो ?

कसैलाई पनि भनिन । सुरुमा मैले मीरासँगको वियोगका कविताहरु लेखे । त्यस्तै १८, १९ वटा कविता लेखें होला । त्यसपछि मैले उसका कुरा लेख्न थालें । मैले पुस्तक लेख्छु भनेर लेख्न थालेको पनि होईन । आफ्नो गन्थन कसलाई सुनाउँ, सुनाउँदा पनि दिक्क हुन्छ सुन्नेलाई भनेर आफ्ना कुरा कापीलाई सुनाउँछु भनेर लेख्न थालेको हुँ । कापीलाई आफ्नो गन्थन सुनाईसकेपछि मन अलिक हलुका भएजस्तो हुन्थ्यो । आफुले लेखेको कुरा पढ्दा आँखा रसाएर आँशु तप्प चुहिन्थ्यो । अक्षरमा पर्दा त्यो फुलेर डम्म हुन्थ्यो ।
लेख्दै जाँदा डा. रवीन्द्र समीरले मलाई तपाईले पुस्तक लेख्नुपर्छ भन्नुभयो । मैले आफुले लेखेको कुरा उहाँलाई दिएँ । उहाँले पढेर राम्रो छ बाल्यकालका कुरा पनि केही लेख्न आग्रह गर्नुभयो । ६, ८ महिना जति पछि मन केही हलुंगो भयो, त्यसपछि मैले सबै कुरा लेख्दै गएँ । लेख्दै जाँदा ६० हजार जति शब्द तयार भएछ । त्यसपछि रवीन्द्रजीले मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेलाई भेटाईदिनुभयो । उहाँले धेरै कुरा मिलाई दिनभयो । उहाँहरुको सल्लाह पछि अरु कुरा पनि लेखें । उहाँहरुले होमवर्क दिए जस्तो हुन्थ्यो । लेख्दै जाँदा ७५ हजार शब्द पुगेछन् । त्यसपछि वियोगका कुरा अरुलाई धेरै सुन्दा पट्यार लाग्छ भनेर उहाँहरुले सुझाव दिएपछि हामी त्यसलाई घटाउन थाल्यौं । कविता सबै राख्न मन थियो तर तिनलाई पनि सबै राख्न पाईएन । ‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’ भन्ने कवितालाई झिकिदिएकोमा मलाई चित्त दुख्यो । तर उहाँहरुले झिक्नुको अर्को पनि कारण छ भन्नु भयो । पछि मैले अलिकति महसुस पनि गरे । मैले लेखेको वियोगका कुरा ७५ प्रतिशत भिकियो, २५ प्रतिशत मात्र राखियो ।

No comments:

Post a Comment

Template Design by Cool Blogger Tutorials | Published by Templates Doctor
Powered by Blogger