Thursday, May 30, 2013

‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’

कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

पुस्तक चिना हराएको मान्छेको सेरोफेरोमा रहेर कलाकार हरिवंश आचार्यसँग उज्यालो अनलाईनका लागि दीपेन्द्र खनियाले गरेको कुराकानीको सारसंक्षेपः

‘चिना हराएको मान्छे’ सार्वजनिक गरेपछि मीरा भाउजुलाई कति सम्झनुभयो ?

खुब सम्झेँ । ऊ यतै कतै छ जस्तो लाग्छ । हाँसिरहेको जस्तो लाग्छ । अनि रमिलालाई केही कुरा भनिरहे जस्तो लाग्छ । मसँग कहिले काहीँ ठुस्की रहेको जस्तो लाग्छ । कहिले गाली गरिरहेको जस्तो लाग्छ । छिनछिनमा, पलपलमा सम्झिरहन्छु । म ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा त उसैलाई सम्झिन्छु । कुनै भाँडा देख्यो भने पनि उसले किनेको हो भन्ने हुन्छ । कुनै जुत्ता देख्यो भने पनि उसले किनिदिएको जुत्ता हो भन्ने हुन्छ । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।
मलाई आत्मा भन्ने कुरामा विश्वास लाग्दैन । त्यसैले मीराको आत्मा भनेको पनि हामीले सम्झने यादहरु मात्रै हो । कथम् कदाचित आत्मा भन्ने कुरा रहेछ भने म सम्हालिएको देखेर उनी खुसी नै हुन्छिन् होला किनभने उसलाई सबैभन्दा धेरै चिन्ता नै मेरो थियो । म अलिकति बिरामी हुँदा पनि उनी धेरै चिन्ता गर्थिन् । उनलाई थाहा थियो आफु मुटुको रोगी छु भन्ने कुरा । त्यसैले कहिले काहीँ धड्नकन बढ्ना साथ उनलाई अब म रहन्न कि भन्ने पिर लाग्दो रहेछ । उनलाई आफ्नो भन्दा पनि मेरो नै ठुलो चिन्ता थियो ।

मीरा केयर फाउन्डेसन, मीरा केयर सेन्टर पहिला जन्म्यो कि चिना हराएको मान्छे ?

जन्मिन त मीरा केयर सेन्टर पहिले जन्म्यो । जब मीराको भौतिक शरीर हामीसँग रहेन, त्यसपछि मैले के विचार गर्थे भनें उसलाई मर्न दिन्न म उसलाई बचाई राख्छु । मान्छे त जो पनि जन्मेपछि मर्दछन् । सायद म पहिले मरेको भए उनी बाँच्थिन होला । म पहिले मरेको भए उनको सम्झनाको चाँजोपाँजो नमिल्न पनि सक्थ्यो । मीराको सम्झनामा एउटा सामाजिक काम गर्छु भन्दा मीरा केयर सेन्टर जन्मेको हो । त्यसैले चिना हराएको मान्छे भन्दा मीरा केयर सेन्टर जेठो हो । नाम चाहिँ हामीले पछि राखेका हौं ।

चिना हराएको मान्छेको बिक्रिबाट प्राप्त हुने सबै रोयल्टी मीरा केयर सेन्टरमा जान्छ ?

दुई हजार एडिसन कपी छ त्यसको मुल्य दुई हजार रुपैयाँ राखेका छौँ । त्यसबाट ४० लाख रुपैयाँ उठाउने हाम्रो लक्ष्य छ । त्यो शतप्रतिशत त्यसमै जान्छ । कुनै दायाँबायाँ गर्दैनौं । पुस्तकबाट आउने रोयल्टीको पाँच लाख रुपैया मैले मीरा कयर सेन्टरको लागि हस्तान्तरण पनि गरिसकेँ । चिना हराएको मान्छेको जति रोयल्टी आउँछ त्यसका बारेमा अहिलेसम्म मैले के गर्ने भन्ने निर्णय गरिसकेको छैन, तर जहाँसम्म मलाई लाग्छ सबै त्यही सेन्टरमा जान्छ । मीरा केयर सेन्टरलाई सबैको साझा संस्था बनाउने लक्ष्य छ । त्यसमा अरुले पनि सहयोग गर्न सक्छन् । त्यसमा पूरै पारदर्शिता अपनाईनेछ । हरेक खर्चका बारेमा जानकारी दिईनेछ । त्यसलाई वेबसाईटमा पनि राख्नेछौं ।

कस्तो काममा केन्द्रित हुनेछ मीरा केयर सेन्टर ?

मीरालाई बच्चा असाध्यै मन पर्थ्यो । त्यसैले म पनि बच्चा जस्तो थिए । अहिले पनि बच्चा जस्तै छु । व्यवहार अझै बच्चा जस्तै छ । हामी नयाँ बजारमा घट्टेकुलोमा बस्दा पनि त्यो अनाथाश्रम सञ्चालन गर्ने मान्छेहरु आउँदा रहेछन् । उनीहरुलाई मीराले कसैलाई चामल, कसैलाई जुत्ता जस्ता कुरा दिईरहन्थिन् । तर त्यसमध्ये एकदुईजनाले चाहिं अनाथाश्रम चलाउने भनेर उठाएको रकम, सामानको सदुपयोग गर्दा रहेनछन् । त्यसैले मैले जथाभावी नदेऊ बुझेर मात्र देऊ, तिमी आफै गएर देउ, जसलाई दिने हो उसैलाई देउ भन्दा पनि उ लुकी लुकी दिने गर्दिरहिछन् । त्यो सबै बच्चाप्रतिको उनको लगावले भएको हो ।
हाम्रो जेठो छोरा त्रिलोक आचार्यले अमेरिकाबाट मीरालाई एक हजार डलर पठाएको थियो, जीवनको पहिलो कमाई भनेर । मीराले त्यसमध्ये १७ हजारको कपडा किनेर जय बाल भोजनका बाल बालिकाहरुलाई बाँडिन् । म पनि गएको थिएँ । त्यसैले उनको बच्चाप्रतिको लगाव धेरै थियो । हामी मीरा केयर सेन्टरमा बच्चा ल्याएर पाल्ने, पढाउने योजनामा त छैनौं तर गर्भावस्था देखि नै आमालाई र बाबुलाई बच्चालाई कसरी सही तरिकाले जन्मदिनु पर्छ ? गर्भवती अवस्थामा के के कुरामा विचार गर्नु पर्छ ? जस्ता कुराको सन्देश दिने छौं । बच्चालाई दवाव दिने बानी छ हाम्रो त्यसलाई सुधार्न आवश्यक छ, बच्चालाई त माया गरेर हुर्काउनु पर्छ । त्यसो गर्न सकिएन भनें बच्चा आफ्नै खुट्टामा उभिन सक्ने हुन्न । कोही बाहिरको मान्छे आयो भने लुक्न जाने, तिम्रो नाम के हो भन्दा टाउको निहुराएर बसिरहने हुन्छ । त्यस्ता बच्चालाई मनमा एकखालको त्रास हुन्छ । तर सुरु देखि नै आत्मविश्वासी बच्चाले भविष्यमा राम्रो गर्न सक्छ । उसको चेतनाको स्तर धेरै राम्रो हुन्छ । बच्चालाई पढाउने मात्रै होईन, खेलाउनु पनि पर्छ । यस्तो काम मीरा केयर सेन्टरले गर्छ । एउटै विद्यालयको राख्ने होईन, कहिले कुन विद्यालयको कहिले कुन विद्यालयको बच्चालाई यसरी राख्नेछौं । चाइल्ड रिच भन्ने एउटा संस्था छ  ईन्टरनेसनल अर्गनाइजेसन, नेपालमा छिरिङ भाईले स्थापना गर्नुभएको छ । त्यससँग सहकार्य गर्दैछौं । त्यसमा विदेशी स्वयंसेवीहरु आएर बच्चाहरुलाई बोल्न सिकाउने, बच्चाको आत्मबिश्वास बढाउन सहयोग गर्नेछन् ।

तपाई त झन्डै पण्डित हुनुभएको रहेछ नी हैन ?

कुनै पनि चिज लेखेको पाईन्छ, देखेको पाईन्न भन्छन् । म पण्डित भएको भए लुकीलुकी  मःम खाने पण्डित हुन्थें होला । मलाई पण्डित हुने गुण प्रकृतिले दिएकै थिएन । मेरो बुबा आमाहरुको इच्छाको कुरा हो । पण्डित बन्ने कुरा मेरो इच्छाले होईन ।

आफैंले लेखेको पुस्तक चिना हराएको मान्छे पढ्नु भयो ?

दिनमा एउटा च्यापटरको हिसावले पढिरहेको छु । पुस्तक पढ्दा यो अरु नै कसैले लेखेको हो जस्तो लाग्छ । तर त्यसको घटना, हरेक हरफ आफुसँग मिलेको जस्तो लाग्छ । पुस्तक पढ्दा मैले कति संघर्ष गरेछु भन्ने लाग्छ । म संघर्ष गर्नै जन्मेको मान्छे हुँ । दुःख पाउनै जन्मेको हुँ । मान्छेले त्यत्रो दुःख सहजै थाम्न सक्दैन मैले असाध्यै दुःख पाएको छु । म आज जुन ठाउँमा पुगेको छु, त्यो संघर्ष सम्झिँदा पनि आनन्द लाग्छ ।

दुःखसँगै माया गर्ने साथी पनि भेटिने रहेछन् नी हैन ?

हो । समयले नै त्यो कुरा दिँदो रहेछ । मलाई दुःख पर्दा साथ दिने साथीहरु थिए । पछि व्यवसायमा साथ दिने मदन दाई जस्तो साथी भेटाएँ । मीरा जस्तो श्रीमती भेटाएँ । अहिले उसैको यत्रो वियोग भोग्नु पर्यो । त्यसपछि फेरि मैले रमिला पाएँ । समयले नै सबै थोक जुटाउँदै जाँदो रहेछ जस्तो लाग्छ ।

पुस्तकका हाँसउठ्दा कुरा ?

खोपासीमा महेश झण्डारीको घरमा बास बस्दा कुकुर बाँधेको थियो तल्लो तलामा । मलाईचाहिँ पिसाबले च्यापेको छ । त्यसपछि मैले झ्यालबाट नै पिसाव गर्न थालें । यो कुरा महेशको आमालाई अहिलेसम्म थाहा छैन । उहाँ अहिले पनि हुनुहुछ । अब पुस्तकको हल्लाखल्ला त हुन्छ । अब कसरी त्यो घरमा जाने ? जाँदा म टाउको निहुर्याएर बसिरहन्छु होला ।
अर्को बैंककमा एकजना मनाङ्गेको भरिया भएर जाँदा भारी बोकेका घटनाहरु पनि रमाईलो लाग्छ, ओहो त्यस्तो पनि भएको थियो भनेर । पहिले विदेश जान त्यत्रो रहर गर्ने मान्छे अहिले विदेशबाट कार्यक्रम गर्न बोलाउँदा जान पाईरहेको छैन ।
मेरो पुस्तकले जस्तोसुकै परे पनि हरेश खानुहुन्न भन्ने सन्देश दिन्छ । मैले त्यत्रो दुःख पाएँ तर मैले प्रयास गर्न कहिल्यै छोडिन । लगावका साथ काम गरेमा अवश्य सफल भईन्छ ।

पुस्तक कुन बेला लेख्नुभयो ? बिहान, बेलुका वा दिउसो ?

धेरैजसो दिउँसो नै लेखें । मीराले छोडेर गएपछि मलाई राति निद्रा नै लाग्दैनथ्यो । त्यसैले म बिहान चाँडै हिंड्थे । एकदिन राति चरा कराए । त्यसपछि उठेर लुगा फेरेर म घडी नै नहेरी हिंडे । म हनुमन्ते पुल नजिक पुग्दा क्याम्पस पढ्ने भाईबहिनीहरु भेटिन्थे । तर त्यो दिन कोही हिंडेको थिएन । आज किन यस्तो भयो भनेर घडी हेरेको त रातिको १ बजेको रहेछ । अरु समयमा भए मलाई डर लाग्थ्यो होला, तर मलाई त्यो दिन कुनै डर लागेन किनभनें सबैभन्दा ठुलो डर ज्यानको न हो । म मेरो ज्यान गए हुन्थ्यो भन्ने सोच्थें । त्यसैले कुनै डर लागेन ।

पुस्तक लेख्ने कुरा सुरुमा कसलाई भन्नु भयो ?

कसैलाई पनि भनिन । सुरुमा मैले मीरासँगको वियोगका कविताहरु लेखे । त्यस्तै १८, १९ वटा कविता लेखें होला । त्यसपछि मैले उसका कुरा लेख्न थालें । मैले पुस्तक लेख्छु भनेर लेख्न थालेको पनि होईन । आफ्नो गन्थन कसलाई सुनाउँ, सुनाउँदा पनि दिक्क हुन्छ सुन्नेलाई भनेर आफ्ना कुरा कापीलाई सुनाउँछु भनेर लेख्न थालेको हुँ । कापीलाई आफ्नो गन्थन सुनाईसकेपछि मन अलिक हलुका भएजस्तो हुन्थ्यो । आफुले लेखेको कुरा पढ्दा आँखा रसाएर आँशु तप्प चुहिन्थ्यो । अक्षरमा पर्दा त्यो फुलेर डम्म हुन्थ्यो ।
लेख्दै जाँदा डा. रवीन्द्र समीरले मलाई तपाईले पुस्तक लेख्नुपर्छ भन्नुभयो । मैले आफुले लेखेको कुरा उहाँलाई दिएँ । उहाँले पढेर राम्रो छ बाल्यकालका कुरा पनि केही लेख्न आग्रह गर्नुभयो । ६, ८ महिना जति पछि मन केही हलुंगो भयो, त्यसपछि मैले सबै कुरा लेख्दै गएँ । लेख्दै जाँदा ६० हजार जति शब्द तयार भएछ । त्यसपछि रवीन्द्रजीले मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेलाई भेटाईदिनुभयो । उहाँले धेरै कुरा मिलाई दिनभयो । उहाँहरुको सल्लाह पछि अरु कुरा पनि लेखें । उहाँहरुले होमवर्क दिए जस्तो हुन्थ्यो । लेख्दै जाँदा ७५ हजार शब्द पुगेछन् । त्यसपछि वियोगका कुरा अरुलाई धेरै सुन्दा पट्यार लाग्छ भनेर उहाँहरुले सुझाव दिएपछि हामी त्यसलाई घटाउन थाल्यौं । कविता सबै राख्न मन थियो तर तिनलाई पनि सबै राख्न पाईएन । ‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’ भन्ने कवितालाई झिकिदिएकोमा मलाई चित्त दुख्यो । तर उहाँहरुले झिक्नुको अर्को पनि कारण छ भन्नु भयो । पछि मैले अलिकति महसुस पनि गरे । मैले लेखेको वियोगका कुरा ७५ प्रतिशत भिकियो, २५ प्रतिशत मात्र राखियो ।

नातिनीलाई गर्भ बोकाएर मार्नेलाई जन्मकैद

आफ्नै नातिनी नाता पर्नेलाई बलात्कार गरी गर्भवती बनाएर हत्या गर्ने एक नेतालाई जन्मकैदको सजाय भएको छ । यो भारतको घटना हो । भारतको मध्यप्रदेशका चर्चित डन नेता तथा पूर्व सांसद अशोक विर विक्रम सिंह उर्फ भैया राजाले जन्मकैदको सजाय पाएका हुन् । बहुचर्चित बसुंधरा हत्याकाण्डमा अशोक सहित अरु तिन जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
vaiya
सन् २००९ को डिसेम्बर ११ मा नातामा नातिनी पर्ने एक छात्रा वसुन्धराको बलात्कार गरी गर्भवती बनाएर गर्भपात समेत गराई गोली हानी हत्या गरेको आरोप अशोकमाथि लागेको छ । यो मामिलामा अशोक सहित उनका ड्राइभर भुपेन्द्र, पंकज शुक्ला, तथा छोटु अभिमन्यु समेत दोषी ठहर भएका छन् ।
अदालतमा अन्तिम सुनुवाइका क्रममा बसुन्धराका आमाले आफ्नी छोरीमाथि भैया राजाले पहिले देखि नै गिद्धे दृष्टि लगाउने गरेको बताउँदै छोरीलाई बचाउनका लागि भोपाल पढ्न पठाएपनि अपराधीले नछाडेको बताइन् ।

मंगल ग्रहमा छेपारो भेटियो ! (फोटो फिचरसहित)

पृथ्वीपछि जिवनको सम्भावना रहेको ठानिएको मंगल ग्रहमा आफुले छेपारो देखेको एक व्यक्तिले बताएका छन् । विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका एक जना जापानी युवाले यस्तो दाबी गरेका हुन् । निकै तिक्ष्ण दृष्टि संवेदना रहेका उनले मंगलको सतहमा छेपारो हिँडिरहेको देखेको दाबी गरेका हुन् ।
1
युएफओ साइटिङ डेलीको वेबसाइटमार्फ उनले यस्तो दाबी र्सार्वजनिक गरेको डेलीमेलले उल्लेख गरेको छ ।
उनको यो दाबीको कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भएपनि यसले कतिपयले अमेरिकी अन्तरीक्षा संस्था नासाले मंगल ग्रहमा जिव बाँच्न सक्ने नसक्ने कुराको परीक्षणका लागि त्यहाँ छेपारो छाडेको हुनसक्ने समेत टिप्पणी गरेका छन् ।
नासाले गएको मार्चमा र्सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी उनले गरेका छन् ।
4
युएफओ वेबसाइटका संचालक स्कट सी वारिङले वेबसाइटमा लेखेका छन्’एक जना जापानीले मंगल ग्रहमा अनौठो प्राणी देखेका छन् ।’
5
मंगल ग्रहमा अलिअलि पानी समेत रहेकाले यस्ता मरुभूमीय प्राणी पाउने सम्भावनालाई नकार्न नसकिने दाबी उनको छ ।

छोरा पाएर ट्वाइलेटमा फ्याँकेकी आमाले भनिन् : चिप्लिएर खस्यो

चीनमा ट्वाइलेटको पाइपभित्रबाट नवजात शिशुलाई जिउँदै उद्दार गरिएको घटना अहिले निकै चर्चामा छ । त्यो बच्चा कसले जन्माएर ट्वाइलेटमा फ्याँक्यो होला भन्ने कौतुहलता सबैमा रह▒े र त्यस्ती निष्ठूरी आमालाई धेरैले सरापे पनि । अन्ततः बच्चा जन्माएर ट्वाइलेटमा फ्याँक्ने महिला पक्राउ परेकी छिन् ।
समाचार अनुसार २२ वर्षी एक कुमारी आमाले छोरा जन्माएको एक दिनपछि ट्वाइलेटमा लगेर फ्याँकेकी रहेछिन् । उक्त घरमा डेरा लिएर बसेकी ती युवतीले गर्भ रहेको र बच्चा जन्माएको कुरा सबैलाई लुकाएकी रहेछिन् र बच्चा पाएको अर्को दिन ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेर बगाएकी रहेछिन् ।
bachha
अझ अनौठो कुरा त के भने फ्लस गरेर बच्चालाई बगाइदिएपछि उनी आफैले घरबेटीलाई खबर गरेकी रहेछिन् की ट्वाइलेटमुनि बच्चा रोइरहेको छ भनेर । त्यसपछि त्यहाँ ठूलो भिड जम्मा भयो र उद्दारकर्मीलाई खबर गरेर बच्चालाई सकुसल उद्दार गरियो ।
ती आमाले बच्चाको उद्दार भएको सबै दृश्य हेरिन् अनौठो मानेर । तर उनले नै बच्चा पाएर फ्याँकेको कुराको सुइँको कसैले पाउन सकेनन् । अन्ततः प्रहरीले त्यो घरका सबै कोठाको तलासी गर्दा ती महिलाको कोठाभित्र रगतले लत्पतिएका कपडा फेला परेपछि बल्ल उनको करतूतको पर्दाफास भयो ।
प्रहरीले ती महिलालाई पक्राउ गरेपछि उनले आफ्नो अपराध कबूल गर्दै आफुसँग गर्भपतनका लागि पैसा नभएकाले गोप्य रुपमा बाथरुमभित्रै बच्चा पाएको बताइन् । तर आफुले बच्चालाई कमोटमा राखेर फ्लस नगरेको दाबी गर्दै उनले बच्चा चिप्लिएर कमोटभित्र परेर खसेको र आफुले तत्कालै घरबेटीलाई खबर गरेको उनको भनाइ छ । घरबेटीले भने बाथरुमभित्र रगत लगायतका कुनै चिजवस्तु नरहेकाले उनले बाथरुममा बच्चा पाएको भनेर पत्याउन नसकिने भन्दै कोठामै बच्चा पाएर ट्वाइलेटमा लगेर फ्याँकेको दाबी गरेका छन् ।
२२ वर्षी ती कुमारी आमाविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चल्ने बताइएको छ । उनले त्यो बच्चाको बाउ को हो भन्ने कुरा भने खुलाएकी छैनिन् । निकै सप्रेको त्यो बच्चाको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

रेखा थापाको अनुहारमा गगन थापा

एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी नायिका रेखा थापा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको उमेरमा केही वर्षको फरक छ । गगन राजधानीमा जन्मेका हुन् भने रेखा मोरंगको गाउँमा । गगन नेपालको गणतान्त्रिक आन्दोलनबाट स्थापित नाम हो भने रेखाले गगनकै जति समय नेपाली चलचित्र क्षेत्रमा खर्च गरेर आफूलाई स्थापित गरेकी छन् । एउटै थर, तर लिङ्ग र भूमिकामात्रै फरक गरेका रेखा र गगन वीच भिन्नतामात्रै छैन, एकरुपता पनि छ ।

rekha-n-gagan
सिने क्षेत्रको दशक लामो लगानीलाई जोखिममा पारेर राजनीतिको दुर्गन्धमा हाम्फालेपछि रेखालाई आलोचना गर्नेहरु ह्वात्तै बढेका छन् । यता गगन थापा पनि राजनीतिमा खासै नयाँपन र फलता देखाउन नसकी आलोचनाको पात्र बन्न थालेका छन् । निश्चित छ, अब यी दुबै थापाहरुले एकै प्रकारको चुनौती र आलोचनाको सामना गर्नुपर्नेछ ।
गगन थापा
वि.सं ०३३ सालमा काठमाडौंमा जन्मेका गगनलाई लोकतान्त्रिक आन्दोलनले स्थापित गरेको हो । नेपाली कांग्रेसले राजतन्त्रको वकालत गरिरहेका बेला साहसपूर्वक गणतन्त्रको पक्षमा बोल्ने गगनले यही विचारका आधारमा राज्यद्रोहको मुद्दा पनि खेपे । ०६२/०६३ को आन्दोलनपछि समानुपातिकतर्फबाट सभासद बनेपछि गगनको व्यक्तित्व अरु चुलियो । संविधानसभामा खासै राम्रो भूमिका खेल्न नसके पनि गगनले नराम्रो काम अहिलेसम्म गरेका छैनन् ।
त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्ने गगनका धेरै साथीहरु यतिबेला अमेरिका र युरोपतिर छन् । उनीचाँहि यही गरीब देशमा बसेर केही गरौं, देशको मुहार फेरौं भन्ने भावना र आवेगमा राजनीतिमा होमिएका हुन् । एउटा युवाले आफूभित्र समाज र देशप्रति केही गर्ने उच्च आवेग नभई यस्तो निर्णय लिन सक्दैन । अझ काठमाडौंको मध्यम वर्गको परिवारमा जन्मिएको युवाले यस्तो चुनौतीपूर्ण बाटोको छनौट गर्नु चानचुने निर्णय होइन । गगनले विदेश जाने वा राम्रो सरकारी सेवामा लाग्ने वा व्यक्तिगत जीवन विलासितापूर्ण बनाउने आम मान्छेहरुको सपनालाई त्यागेकै हुन् । गगन थापाले जुन बाटो रोजेका छन्, यो धेरैले मन नपराएको र फोहोरी राजनीति भनेर घृणा गरिरहेको बाटो हो । गगनजस्ता युवा पुस्ताका मान्छेहरु यसरी राजनीतिमा आकिर्षत नहुने हो भने राजनीतिमा नयाँ पुस्ताको खडेरी पर्ने पक्कापक्की छ । राजनीतिमा गगनजस्ता युवाको प्रवेश राजनीतिकर्मीका खुशीको विषय पक्कै बन्नुपर्ने हो, बनिरहेको होला ।
गगनले चन्दा र कमिसनमा नभई आफ्नै पेशा/व्यवसायबाट राजनीतिमा टिक्ने उद्देश्य राखेर बाख्रापालन, मासु व्यवसाय, कुरिलो खेती इत्यादि गर्ने जुन प्रयत्न गरे, यसबाट उनले राजनीतिक वृत्तमा नयाँ सन्देश प्रवाह गर्न खोजेकै हुन् ।
तर, पछिल्लो समय गगनमा पनि केही सीमाहरु देखिन थालेका छन् । विगतमा राजा र राजतन्त्रको आलोचना गरेरै स्थापित भएका उनले आफ्नो पार्टी र संविधानसभामा खासै उल्लेखनीय करिस्म्याटिक भूमिका खेल्न सकेनन् । अहिले पनि उनी एमाओवादीलाई गाली गर्ने प्रतिक्रियात्मक राजनीतिमा बढ्ता अल्मलिन थालेका हुन् कि भन्ने देखिन थालेको छ । आफ्नै स्वतन्त्र विचारको विकासमा भन्दा पनि अरुबाट प्रभावित हुने क्रम उनमा बढेजस्तो देखिएको छ । सबैपक्षलाई मिलाउने स्टेटम्यासीप भन्दा पनि गुटपरस्त राजनीतितर्फ उन्मुख भएजस्तो देखिन थालेको छ ।
देशका लागि केही गरौं भन्ने आवेग गगनमा असाध्यै बढी छ, तर अब उनले आवेगसँगै विवेक प्रदर्शन गर्ने बेला आइसकेको छ र उनको व्यक्तित्व विकासका लागि अब निणर्ायक बिन्दु भनेकै यही विवेक नै ठहरिने छ । तथापि हामीले के भुल्न हुँदैन भने सिंगै राजनीति र पुराना नेतालाई जनताले तीब्र घृणा गरिरहेका बेला गगन थापाजस्ता युवा नेताहरु अझै पनि राजनीतिमै लागिरहनु भनेको भावी पुस्ताले अझै पनि राजनीतिप्रति थोरै आशा मारिसकेको छैन है भन्ने सन्देश हो । बाँकी चुनौती गगनकै जिम्मामा ।
रेखा थापा
गगनभन्दा एकवर्ष पहिले जन्मेकी नायिका रेखा थापाले चाँहि गगनले जसरी गणतन्त्र र राजनीतिक आन्दोलनमा भूमिका खेलेकी छैनन् । तर, उनीभित्रको आवेग गगनको भन्दा कम देखिएन । गाउँमा हुर्केकी केटीले चलचित्रकर्ममा यो ठाउँसम्म आइपुग्न गगनले भन्दा कम संघर्ष गर्नुपरेको छैन । युवापुस्ताले उनलाई ‘लभ-गुरु’ त्यतिकै मानेका हैनन् होला ।
पछिल्लो समयमा रेखाले श्रीमान छविसंग जुन किसिमको संघर्ष गरिन्, त्यसले उनलाई संघर्षशील र स्वाभिमानी नारीको रुपमा उभ्याएको छ ।श्रीमान्-श्रीमतीवीचको खटपटको विषय के थियो भन्ने कुरा गौण हो, रेखाले आफ्नो स्वतन्त्र छविका लागि जुन बाटो सामातेकी छन्, त्यसलाई अहिलेको युवापुस्ता, व्यक्तिगत स्वतन्त्रतावादी एवं महिला अधिकारवादीले समर्थन नगुर्नपर्ने कारण शायदै होला । पारिवारिक जीवन र प्रेमको सफलता/असफलता मानिसको नितान्त व्यक्तिगत विषय हो ।
पछिल्लो समय रेखाले राजनीतिमा लागेर समाज र देशको सेवा गर्ने गगन थापाको जस्तै सोचाइ बनाएको देखिन्छ, भलै उनको यो निर्णयमा विवेकको भन्दा आवेगको मात्र बढी देखिन्छ । तर यसले रेखा थापाभित्र पनि गगनको भन्दा कम आवेग छैन भन्ने पुष्टि गरेको छ । यद्यपि रेखाभित्रको आवेगले अहिलेसम्म गगन थापाको जसरी राजनीतिको वहावमा हेलिन, बग्न र पाक्न पाएको छैन ।
रेखा थापा राजनीतिमा प्रवेश गर्दा उनलाई गाली गर्नु र निराश पार्नु भनेको राजनीतिमा नयाँ मान्छेका लागि ढोका बन्द गर्नुसरह हो । अर्कै पेशा र क्षेत्रमा लागेर स्थापित भएको व्यक्ति राजनीतिमा प्रवेश गर्दा राजनीतिप्रतिको आकर्षण बढ्छ र यसले गर्दा राजनीतिलाई फोहोरी खेल भन्ने युवापुस्तामा पनि राजनीतिप्रति आकर्षण बढ्न सक्छ । यसले गर्दा राजनीतिमा राम्रा र केही गरौं भन्ने भावना बोकेका मानिसहरुको पनि आगमन हुन सक्छ । त्यसैले जुनसुकै पार्टीको माध्यमबाट भए पनि राजनीतिमा युवा पुस्ताको आकर्षण लोकतन्त्रका लागि सकारात्मक विषय हो ।
गगन थापा एक/डेढ दशक पहिल्यै राजनीतिमा लागे । रेखा थापा धेरै पछिमात्रै यतातिर लागिन् । गगन राजनीतिमा केही गर्न नसकेर छटपटाउने बेला भैसकेको छ, तर रेखा के-के न गरौंला भन्दै उत्साही बनेकी छन् ।
रेखा थापाले कुन पार्टी रोजिन्, त्यो प्रमुख कुरा होइन । गगन थापा कांगेसमा छन् कि कम्युनिष्ट पार्टीमा छन्, त्यो पनि ठूलो विषय होइन । रेखाले पनि गगनले जस्तै राजनीतिको फोहोरमा हात चोपिन्, योचाँहि ठूलो कुरा हो । निकै ठूलो आवेग र पागलपनविना मान्छेले यस्तो जोखिम मोल्दैन । रेखालाई चलचित्र कर्ममा नपुग्दो थिएन । गगन थापालाई पनि जीवनमा नपुग्दो केही थिएन । रेखा थापा र गगन थापाहरु किन अझै राजनीतिमा लाग्दैछन् ? यो चाँहि हाम्रो देश र समाजका लागि निकै महत्वपूर्ण कुरा हो ।
कमसेकम दलका नेताहरुले रेखा थापा राजनीतिमा आउँदा उनलाई व्यंग्य गर्नुको साटो स्वागत गर्नुपर्ने हो कि ? ताकि, बागमतीको फोहोरमा पस्न तयार नायक राजेश हमालहरु पनि राजनीतिको फोहोर बागमतीमा पस्न तयार बनून । र, रेखा थापाहरुका अनुहारमा नयाँ गगन थापाहरु देखिन थालुन् ।
जबसम्म राजनीतिमा नयाँ पुस्ताको आकर्षण देखिँदैन, तबसम्म राजनीतिको बागमती सङ्लो हुन असम्भव छ । रेखा आफैंमा केही होइनन्, तर एउटा मिथकचाँहि अवश्यै हुन् । उनमा राजनीतिको ज्ञान गगनमा जति छैन, तर उनी जोदाहा युवती चाँहि पक्कै हुन् । फोहोर देख्दादेख्दै राजनीतिमा हाम्फाल्ने दुस्साहसी नै हुन् उनी । अधिकांश मानिसहरु डिलमा बसेर फोहोर पार्नेहरुलाई गाली गरिहेका छन् । तर, के वागमतीमा नपसी डिलबाट मात्रै त्यसलाई सफा पार्न सकिन्छ ? अहिले यही प्रश्नमा चर्चित बैंकर्स अनील शाहहरुले पनि बहस गरिरहेका हैनन् र ?
source:onlinekhabar.com

कोरियाली भाषा परीक्षा अक्टुवरमा

 दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैजान लिने कोरिया भाषा परीक्षा -केएलटी) अक्टुबरमा गर्ने तयारी गरेको छ । कोरियाले यस बर्षको भाषा परीक्षामा करिब ८ हजार २ सय नेपालीलाई उत्तीर्ण गर्ने भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा कोरिया मानब संसाधन विकास (एचआरडी) ईपीएस सेन्टर नेपालका निर्देशक लि दोङ सिर्कले यस बर्षको कोरिया भाषा परीक्षा अक्टुबरमा गर्ने तयारी भइरहेको जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । ‘मे २१ तारिखमै भाषा परीक्षा गराउने गरी मिति तोक्ने तयारी थियो,’ उनले भने, ‘तर, नेपालको श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले धेरै कामदार कोरिया जाने योग्यसूची (रोस्टर) मा रहेकाले अहिले नगर्न आग्ह गरेपछि केही समय धकेलिएको हो ।’
अक्टुबरमा भाषा परीक्षाको तयारी भएको भन्दै निर्देशक सिर्कले श्रम मन्त्रालयसँग छलफल गरेर मिति तय गरिने जानकारी दिए ।

सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ४६ नेपालीको मृत्यु

 नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले चुरोट, बिँडी, सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीज्न्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण बाषिर्क १७ हजारभन्दा बढीको ज्यान जाने गरेको बताइएको छ ।
hhdfaसंगठनले कुल जनसंख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको जनाउँदै प्रयोगकर्ताको संख्या बढ्दो अवस्थामा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । त्यस मध्ये २३ दशमलब ८ प्रतिशतले धुपमान अर्थात चुरोट बिँडीको मात्रै प्रयोग गर्ने पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बर्षअघि गरेको अध्ययनबाट ग्रामीण क्षेत्रमा ३३ प्रतिशत सहरी क्षेत्रमा २० प्रतिशत महिला सुर्तीजन्य पदार्थको अम्मली रहेको देखाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित अर्को तिथि अन्योलमा, विद्यार्थी संगठनद्वारा विरोध

 त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र मुख्य विद्यार्थी संगठनका प्रतिनिधिबीचको छलफलमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भएको हो । चुनावी कार्यक्रम अनुसार बिहीबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने तालिका थियो ।

‘विद्यार्थी संगठनहरुबीच सहमति नभएपछि २३ गतेको चुनाव स्थगित भएको छ’ त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद शाखाका प्रमुख गंगाबहादुर थापाले अनलाइनखबरसित भन्नुभयो-’अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको छ ।’ विद्यार्थी संगठनहरुबीच सहमति भएर छिटो चुनाव भएमा अहिलेको प्रकृया फेरि शुरु हुने उहाँले जानकारी दिनुभयो । तर, अर्को चुनावको तिथि कहिले टुंगो लाग्छ भनेर यसै भन्न नसकिने उहाँको भनाइ छ ।
‘तालाबन्दी खोल्ने बिषयमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भयो’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले अनलाइनखबरसित भन्नुभयो- ‘अहिलेसम्मका सबै गृहकार्य र मेहनत खेर गयो ।’ चुनाव स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकअर्कालाई दोष लगाएका छन् । एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र बैद्य माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले आआफ्नो पकड भएका क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेपछि समस्या उत्पन्न भएको हो । तर सबैले आफ्नो संगठनबाट नभएर अर्को विद्यार्थी संगठनले फर्जी भर्ना गरेको आरोप लगाएका छन् ।
यसैवीच स्ववियु स्थगन गर्ने बैठकमा सहभागी भएको एमाओवादी समर्थित अखिल क्रान्तिकारी स्ववियु चुनाव स्थगनको विरोध गरेको छ । ‘जुनसुकै हालतमा पनि चुनाव गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’- क्रान्तिकारीका केन्द्रीय नेता मदन अर्यालले अनलाइनखबरसँग भन्नुभो । त्यसैगरी एमाले अनेरास्ववियू नेतृ राधिका खड्काले पनि चुनाव स्थगनको विरोध गर्दै अर्को तिथि तत्काल तोकिनुपर्ने बताउनुभएको छ ।
उता नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ऋषिकेश शाहले दुई अखिलका कारण स्ववियु निर्वाचन स्थगित भएको आरोप लगाउनु भयो । शाहले अनलाइनखबरसंग भन्नुभयो,’दुई अखिलका कारण चुनाव स्थगित भएको हो । हामीलाई यो स्विकार्य छैन । हामी नेविसंघ अब कडा आन्दोलनमा जान्छौ ।’ चुनाव स्थगन गर्ने बैठकमा एमाओवादी, एमाले, कांग्रेस र वैद्य माओवादी समर्थित विद्यार्थी संगठनका नेताहरुको सहभागिता थियो ।

Template Design by Cool Blogger Tutorials | Published by Templates Doctor
Powered by Blogger