सानो मुलुक भएर पनि नेपाल सामाजिक सभ्यतामा निकै ठूलो असमानता र विविधतामा छ । आफूलाई उत्तरआधुनिक भन्न रुचाउने नयाँ पुस्ताका मान्छे पनि नेपाल, अमेरिका र युरोपसम्म देख्न पाइन्छ, अर्कातिर सामाजिक विकासक्रममा कदम पछाडि परेका जनजाति पनि देख्न पाइन्छ । र, एक्काइशौं शताब्दीमा आइसक्दा पनि कृषि र पशुपालन युगमासम्म प्रवेश नगरेका कविला युगका राउटे जातिहरु पनि प्रत्यक्षरुपमै भेट्न पाइन्छ नेपाली समाजमा ।
मानव विकासको यो पुस्ताअन्तर कति विचित्रको छ भन्ने थप प्रमाण शुक्रबार नेपालगञ्जको रमझममा भेटिएका राउटेहरुले थप प्रष्ट पारेका छन् । उनीहरुलाई न शहरको महल चाहिएको छ, न सभ्यजाति भनाउँदा मान्छेले जसरी एक चोक्टो घडेरीका लागि मारामार गर्ने पक्षमा नै छन् उनीहरु ।
आफूलाई सभ्य भन्ने मान्छेहरु शहरमा पद र प्रतिष्ठाका लागि कोकोहोलो झगडा गरिरहेका छन् । कोही भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाइरहेका छन्, बलात्कार, महिला हिंसा र अपराधका घटना दिनहुँ सुनिन्छ सभ्य भनाउँदाहरुको वस्तीमा । तर, समाज विकासको सबैभन्दा पछिल्लो पाइलो चालिरहेका राउटेहरुलाई भने यो रंङ्गीचंङ्गी शहर, बजार र भौतिक सुविधाभन्दा आफ्नै जंगल, आफ्नै प्रकृति अनि आफ्नै जीवनशैली प्यारो छ । यी राउटेहरु यतिबेला सुर्खेतको रझेना क्षेत्रको बनमा २ सय ४२ परिवार बस्दै आएका छन् । शुक्रबार नेपालगञ्जमा भेटिएका उनीहरुका अधिकांश बालबालिका खोपबाट बञ्चित छन् । जंगलमै बस्ने भएकाले उनीहरु विद्यालय जाने त कुरै भएन ।
परापूर्वकालमा मानिसहरु जंगली अवस्थाबाट कृषिमा प्रवेश गरेको इतिहासमा पढ्न पाइन्छ । तर, जंगली जनावरको सिकार गर्ने अनि कन्दमुल खोज्दै जीउने कविला अवस्थाका राउटेहरु अहिले पनि आफूहरु खेती गर्नर् नसक्ने बताउँदै भन्छन् -’हामीलाई जंगलमै रम्न देऊ ।’
अर्थमन्त्रालय अन्तगर्तको युवा तथा स्वरोजगार कोषले लोपोन्मुख राउटे समुदायलाई अन्य लोपोन्मुख जातिसँगै अन्तरक्रिया गर्ने वातावरण मिलाउन शुक्रबार आयोजना गरेको अन्तरजिल्ला भ्रमणका अवसरमा नेपालगन्ज आइपुगेका राउटेहरुले आफूहरु खेती किसानी नगर्ने बताएका हुन् ।
‘नेपालगन्जको बजार राम्रो भए पनि हाम्रा लागि जङ्गलै प्यारो छ,’- मध्यपश्चिमका विभिन्न जिल्लामा जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका सहायक मुखिया शिवराज शाहीले भन्नुभयो- सरकारले हामीलाई समयमै भत्ता, राशन पानी दिनुपर्छ, हामी जङ्गलमै रमाएका छौं ।’
राउटे समुदायले फिरन्ते जीवन बिताउने, जंगली जनावर, कन्दमूल खाने र जंगलका काठबाट विभिन्न सामाग्रीहरु बनाई नजिकको गाउँमा लगेर अनाजसंग साट्ने गर्छन् । आफुहरु बसाइँ सरेको जिल्लामा सरकारले दिने सामाजिक सुरक्षा भत्ता दिए पुग्ने बताउँदै राउटे समुदायका सहायक मुखिया शिवराज भन्नुहुन्छ- ‘हामी जहाँ जान्छौं त्यही जिल्लाले हामीलाई भत्ता दिनुपर्छ । हामी खेती गर्दैनौं । ‘कोशी, मुदुस बनाउनका लागि काठ काट्न जंगलमा हामीलाई कुनै बाधा हुनुभएन ।’
नेपालगन्ज, काठमाडौंलगायतका शहरमा सित्तैमा घर दियो भने बस्नुहुन्छ भनी सोधिएको प्रश्नमा अधिकांश राउटेले घर दिए पनि जङ्गल छोड्न नसक्ने बताए । ‘एउटै ठाउँमा घर बनाएर बस्न मन लाग्दैन,- राउटेहरुले भने-’जङ्गलमा घुम्दै फिर्दै बाँच्नै रमाइलो लाग्छ ।’ शहर बजारका ठूला दरबारभन्दा आफुहरुलाई जङ्गलकै बसाइ प्यारो लाग्ने सहायक मुखिया शाहीले बताउनुभयो ।
राउटेहरुको १६ जनाको टोली चितवनका चेपाङ, दाङका कुसुण्डा र बाँकेका कुचबधियासँग भेटेर नेपालगन्जबाट शुक्रबार आफ्नो बासस्थान सुर्खेतको जहरेतर्फ लागेका छन् । चितवन र दाङ पुगेर र्फकने क्रममा नेपालगञ्जमा भएको अन्तरक्रियामा राउटे समुदायका अगुवा शाहीले जङ्गलमै काठका विभिन्न सामान बनाउँदा आनन्द लाग्ने बताउनुभयो ।
राउटे समुदायका दीपक शाहीले नेपालगन्जको बजार राम्रो भए पनि आफुहरुका लागि बजार भन्दा जङ्गल धेरै राम्रो भएको बताउनुभयो । ‘यहाँको बजार हेर्दा राम्रै छ,’-शाहीले भन्नुभयो,-’यहाँ नेपालगन्ज हेर्दा यहीँ रमाइलो, जङ्गल जाँदा त्यहीँ रमाइलो ।’ केहीले राउटेले भने गाडीमा सुर्खेतबाट चितवन पुगेर र्फकंदा आफूहरुलाई अफ्ठेरो भएको तर बजार भने रमाइलो लागेको बताए ।
अन्तरक्रियाका अवसरमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राउटे समुदायले रोजगारीका लागि आग्रह गरे उनीहरुलाई प्राथामिकतामा राख्ने बताउनुभयो । त्यस्तै स्वरोजगार कोषका अनुगमन अधिकृत लक्ष्मी बुथाथोकीले राउटेहरुलाई समाजमा स्थायी बसोबासको पहल गर्न उनीहरुलाई अन्य लोपोउन्मुख समुदायसंग भेटघाट गराएको बताउनुभयो । तर, राउटेहरुले भने आफूहरुलाई कविला अवस्था नै प्यारो लाग्ने र त्यसमा बाधा नगर्न उनीहरुले ‘सभ्य’ भनाउँदो समाज र राज्यसँग आग्रह गरेका छन् । र, यो राउटे जातिको अधिकार पनि हो साथै नेपाली समाजको अजबको सौन्दर्य पनि l source - onlinekhabar.com
No comments:
Post a Comment