Monday, July 15, 2013

मतदाता नामाबलीमा जाँगर देखाएनन् कलाकारले, मतदान गर्नेबारे मिश्रित प्रतिक्रिया

अहिलेसम्म मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले बाहेक संविधानसभाको चुनाव बहिस्कार गर्ने कसैले भनेका छैनन् । तर, केही सिने कलाकारहरु चाँहि व्यक्तिगतरुपमा आगामी चुनावमा मतदान नगर्ने बताएका छन् । निर्वाचनको मिति घोषणासँगै मतदाता नामावलीमा नाम लेखाउने प्रक्रियालाई तिब्रता दिएको निर्वाचन आयोगले असार ३१ सम्म मतदाता नामाबलीमा नाम लेखाउन आह्वान गरेको छ । मतदाता सूचिमा नाम लेखाउनेहरुको भिडमा नेपाली सिनेमा तथा सांगीतिक क्षेत्रका कलाकारहरु आधाउधी देखिएका छन् । तर, आयोगले आह्वान गरेको समय तालिकाभित्र केही कलाकारले भने अरुची प्रकट गर्दै नाम लेखाएनन् ।

भोट नहाल्ने कलाकार
चपलीहाइट गर्ल नायिका बिनिता बराल यो बर्ष आफूलाई नाम लेखाउन कुनै जाँगर नचलेको बताउछिन् । उनी भन्छिन्, ‘भोट हालेर के हुन्छ ? नेताहरुले देश कहिल्यै बनाउने होइनन् । मलाई त नाम लेखाउन जाँगर नै आएन । एउटा सचेत नागरिक भएको नाताले नाम त लेखाउनु पर्ने हो, तर किन किन मलाई जाँगर चलेन ।’
विनितालाई जस्तै निर्माता छविराज ओझा पनि मतदाता सूचीमा नाम लेखाउने प्रक्रिया अव्यवस्थित भएकाले जाँगर नचलेको बताउँछन् । उनले भने, ‘निर्वाचन आयोग अगाडि त्यति धेरै भिड छ, जनतालाई नाम लेखाउनका लागि सुविधा दिनुपर्‍यो नि ।’
अहिलेका व्यस्त कलाकार दयाहाङ राइले पनि मतदाता नामाबलीमा नाम लेखाएका छैनन् । अरुलाई दोष दिनु भन्दा पनि आफ्नै हेलचक्राइले गर्दा नाम लेखाउन नपाएको तर्क उनको छ । अनलाइनखबरसँग उनले भने, गरौला गरौला भन्दा भन्दै समय घर्किएछ, आफ्नै कारणले गर्दा मैले भ्याइन ।
नायिका नन्दिता केसीले पनि मतदाता नामाबलीमा नाम लेखाएकी छैनन् । उनले आफूमा जोश र जागर हराएर भन्दा पनि गर्छु गर्छु भन्दा भन्दै ढिलो भएको बताइन् । नाम लेखाउनु पर्ने हो, भोट हाल्नु पर्ने हो तर खै के भयो भयो, नन्दिताले भनिन् ।
निर्वाचन र नेताहरु प्रति विश्वास नलागेर नाम नलेखाएको भन्ने कलाकारको भिडमा नायिका गरिमा पन्त पनि पर्छिन् । उनले भनिन्, पहिलाको जस्तो जोश र जागर नै छैन, एउटा जिम्मेबार नागरिक भएको हिसाबले त लेख्नु पर्ने हो तर किन लेख्नु जस्तो लाग्यो र लेखाइँन ।
भोट हाल्न पाउने कलाकार
नायक राजेश हमालले आइतबारमात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो नाम लेखाएका छन् । एउटा सचेत नागरिक भएको हिसाबले आफ्नो दायित्व पूरा गर्न उनले नाम लेखाएको बताए ।
नायिका झरना थापाले केही समय अघि नै टोल टोलमा निर्बाचन आयोगका कर्मचारी आउदा आफूले नाम लेखाएको बताइन् । आफूमा बल्ल बल्ल आएको चुनाव प्रति उत्साहा भएको झरनाको तर्क छ ।
एकिकृत नेकपा माओवादी निकट मानिएका संगीतकार चेतन सापकोटाले एक बर्ष अघि हेटौडा पुग्दा नै आफूले नाम लेखाएको बताए । द्वन्द्व निर्देशकद्धय हिमाल केसी र एन.बी महर्जनले पनि मतदाता नामाबलीमा नाम लेखाइसकेका छन् । यस्तै चलचित्र लेखक मौनता श्रेष्ठले पनि मतदाता नामाबलीनमा नाम लेखाइएसकेको बताए ।
‘मायाज बार’ हिरो गजित बिष्टले पनि ३ महिना अघि नै नाम लेखाएको बताए । जिम्मेबार नागरिक भएपछि त नाम लेखाएर भोट हाल्नु पर्‍यो नि हैन र, गजितले भने । नायिका केकी अधिकारीले पनि केही महिना अघि आफूले नाम लेखाएको बताइन् । भनिन्, भोट हाले पनि उही हो, नहाले पनि उस्तै हो भने किन नहाल्नु र, यसैले मतदाता नामाबलीमा नाम लेखाए ।
गायक हेमन्त शर्माको बिचार भने केही फरक देखिएको छ । शुक्रबार हतार हतारमा गएर नाम लेखाएको भन्दै उनले भने, भोट हाल्ने नहाल्ने आफ्नो कुरा हो, तर परिचय पत्र लिएर बसेपछि त आफूलाई धेरै कुरामा काम लाग्छ नि हैन र ? उनले परिचत्र पत्र लिएपछि नागरिक जस्तो देखिने तर्क पनि अघि सारे ।
यता संगीतकार बसन्त सापकोटा भने सचेत नागरिक भएको हिसाबले पनि मतदाता नामाबलीमा नाम लेखाउनु पर्ने तर्क अघि सादै आफू अन्तिम दिनमा भएपनि नाम लेखाउन जान लागेको बताउछन् । उनी भन्छन्, मेरो नागरिकता हराएकाले बनाउदा केही समय ढिला भएको हो ।
भर्खरै उदाउँदै गरेकी नायिका अशिष्मा नकर्मीले र्फम लिएर आएको र अन्तिम दिनमा गएर नाम लेखाउने बताइन् । आइतबार र्फम भर्न गएको यति लामो लाइन रै’छ कि, के भन्ने ? यसैले घरमै लिएर आएँ, अब सोमबार गएर भर्छु, अशिष्माले भनिन् ।

No comments:

Post a Comment

Template Design by Cool Blogger Tutorials | Published by Templates Doctor
Powered by Blogger