Thursday, May 30, 2013

‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’

कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

पुस्तक चिना हराएको मान्छेको सेरोफेरोमा रहेर कलाकार हरिवंश आचार्यसँग उज्यालो अनलाईनका लागि दीपेन्द्र खनियाले गरेको कुराकानीको सारसंक्षेपः

‘चिना हराएको मान्छे’ सार्वजनिक गरेपछि मीरा भाउजुलाई कति सम्झनुभयो ?

खुब सम्झेँ । ऊ यतै कतै छ जस्तो लाग्छ । हाँसिरहेको जस्तो लाग्छ । अनि रमिलालाई केही कुरा भनिरहे जस्तो लाग्छ । मसँग कहिले काहीँ ठुस्की रहेको जस्तो लाग्छ । कहिले गाली गरिरहेको जस्तो लाग्छ । छिनछिनमा, पलपलमा सम्झिरहन्छु । म ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा त उसैलाई सम्झिन्छु । कुनै भाँडा देख्यो भने पनि उसले किनेको हो भन्ने हुन्छ । कुनै जुत्ता देख्यो भने पनि उसले किनिदिएको जुत्ता हो भन्ने हुन्छ । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।
मलाई आत्मा भन्ने कुरामा विश्वास लाग्दैन । त्यसैले मीराको आत्मा भनेको पनि हामीले सम्झने यादहरु मात्रै हो । कथम् कदाचित आत्मा भन्ने कुरा रहेछ भने म सम्हालिएको देखेर उनी खुसी नै हुन्छिन् होला किनभने उसलाई सबैभन्दा धेरै चिन्ता नै मेरो थियो । म अलिकति बिरामी हुँदा पनि उनी धेरै चिन्ता गर्थिन् । उनलाई थाहा थियो आफु मुटुको रोगी छु भन्ने कुरा । त्यसैले कहिले काहीँ धड्नकन बढ्ना साथ उनलाई अब म रहन्न कि भन्ने पिर लाग्दो रहेछ । उनलाई आफ्नो भन्दा पनि मेरो नै ठुलो चिन्ता थियो ।

मीरा केयर फाउन्डेसन, मीरा केयर सेन्टर पहिला जन्म्यो कि चिना हराएको मान्छे ?

जन्मिन त मीरा केयर सेन्टर पहिले जन्म्यो । जब मीराको भौतिक शरीर हामीसँग रहेन, त्यसपछि मैले के विचार गर्थे भनें उसलाई मर्न दिन्न म उसलाई बचाई राख्छु । मान्छे त जो पनि जन्मेपछि मर्दछन् । सायद म पहिले मरेको भए उनी बाँच्थिन होला । म पहिले मरेको भए उनको सम्झनाको चाँजोपाँजो नमिल्न पनि सक्थ्यो । मीराको सम्झनामा एउटा सामाजिक काम गर्छु भन्दा मीरा केयर सेन्टर जन्मेको हो । त्यसैले चिना हराएको मान्छे भन्दा मीरा केयर सेन्टर जेठो हो । नाम चाहिँ हामीले पछि राखेका हौं ।

चिना हराएको मान्छेको बिक्रिबाट प्राप्त हुने सबै रोयल्टी मीरा केयर सेन्टरमा जान्छ ?

दुई हजार एडिसन कपी छ त्यसको मुल्य दुई हजार रुपैयाँ राखेका छौँ । त्यसबाट ४० लाख रुपैयाँ उठाउने हाम्रो लक्ष्य छ । त्यो शतप्रतिशत त्यसमै जान्छ । कुनै दायाँबायाँ गर्दैनौं । पुस्तकबाट आउने रोयल्टीको पाँच लाख रुपैया मैले मीरा कयर सेन्टरको लागि हस्तान्तरण पनि गरिसकेँ । चिना हराएको मान्छेको जति रोयल्टी आउँछ त्यसका बारेमा अहिलेसम्म मैले के गर्ने भन्ने निर्णय गरिसकेको छैन, तर जहाँसम्म मलाई लाग्छ सबै त्यही सेन्टरमा जान्छ । मीरा केयर सेन्टरलाई सबैको साझा संस्था बनाउने लक्ष्य छ । त्यसमा अरुले पनि सहयोग गर्न सक्छन् । त्यसमा पूरै पारदर्शिता अपनाईनेछ । हरेक खर्चका बारेमा जानकारी दिईनेछ । त्यसलाई वेबसाईटमा पनि राख्नेछौं ।

कस्तो काममा केन्द्रित हुनेछ मीरा केयर सेन्टर ?

मीरालाई बच्चा असाध्यै मन पर्थ्यो । त्यसैले म पनि बच्चा जस्तो थिए । अहिले पनि बच्चा जस्तै छु । व्यवहार अझै बच्चा जस्तै छ । हामी नयाँ बजारमा घट्टेकुलोमा बस्दा पनि त्यो अनाथाश्रम सञ्चालन गर्ने मान्छेहरु आउँदा रहेछन् । उनीहरुलाई मीराले कसैलाई चामल, कसैलाई जुत्ता जस्ता कुरा दिईरहन्थिन् । तर त्यसमध्ये एकदुईजनाले चाहिं अनाथाश्रम चलाउने भनेर उठाएको रकम, सामानको सदुपयोग गर्दा रहेनछन् । त्यसैले मैले जथाभावी नदेऊ बुझेर मात्र देऊ, तिमी आफै गएर देउ, जसलाई दिने हो उसैलाई देउ भन्दा पनि उ लुकी लुकी दिने गर्दिरहिछन् । त्यो सबै बच्चाप्रतिको उनको लगावले भएको हो ।
हाम्रो जेठो छोरा त्रिलोक आचार्यले अमेरिकाबाट मीरालाई एक हजार डलर पठाएको थियो, जीवनको पहिलो कमाई भनेर । मीराले त्यसमध्ये १७ हजारको कपडा किनेर जय बाल भोजनका बाल बालिकाहरुलाई बाँडिन् । म पनि गएको थिएँ । त्यसैले उनको बच्चाप्रतिको लगाव धेरै थियो । हामी मीरा केयर सेन्टरमा बच्चा ल्याएर पाल्ने, पढाउने योजनामा त छैनौं तर गर्भावस्था देखि नै आमालाई र बाबुलाई बच्चालाई कसरी सही तरिकाले जन्मदिनु पर्छ ? गर्भवती अवस्थामा के के कुरामा विचार गर्नु पर्छ ? जस्ता कुराको सन्देश दिने छौं । बच्चालाई दवाव दिने बानी छ हाम्रो त्यसलाई सुधार्न आवश्यक छ, बच्चालाई त माया गरेर हुर्काउनु पर्छ । त्यसो गर्न सकिएन भनें बच्चा आफ्नै खुट्टामा उभिन सक्ने हुन्न । कोही बाहिरको मान्छे आयो भने लुक्न जाने, तिम्रो नाम के हो भन्दा टाउको निहुराएर बसिरहने हुन्छ । त्यस्ता बच्चालाई मनमा एकखालको त्रास हुन्छ । तर सुरु देखि नै आत्मविश्वासी बच्चाले भविष्यमा राम्रो गर्न सक्छ । उसको चेतनाको स्तर धेरै राम्रो हुन्छ । बच्चालाई पढाउने मात्रै होईन, खेलाउनु पनि पर्छ । यस्तो काम मीरा केयर सेन्टरले गर्छ । एउटै विद्यालयको राख्ने होईन, कहिले कुन विद्यालयको कहिले कुन विद्यालयको बच्चालाई यसरी राख्नेछौं । चाइल्ड रिच भन्ने एउटा संस्था छ  ईन्टरनेसनल अर्गनाइजेसन, नेपालमा छिरिङ भाईले स्थापना गर्नुभएको छ । त्यससँग सहकार्य गर्दैछौं । त्यसमा विदेशी स्वयंसेवीहरु आएर बच्चाहरुलाई बोल्न सिकाउने, बच्चाको आत्मबिश्वास बढाउन सहयोग गर्नेछन् ।

तपाई त झन्डै पण्डित हुनुभएको रहेछ नी हैन ?

कुनै पनि चिज लेखेको पाईन्छ, देखेको पाईन्न भन्छन् । म पण्डित भएको भए लुकीलुकी  मःम खाने पण्डित हुन्थें होला । मलाई पण्डित हुने गुण प्रकृतिले दिएकै थिएन । मेरो बुबा आमाहरुको इच्छाको कुरा हो । पण्डित बन्ने कुरा मेरो इच्छाले होईन ।

आफैंले लेखेको पुस्तक चिना हराएको मान्छे पढ्नु भयो ?

दिनमा एउटा च्यापटरको हिसावले पढिरहेको छु । पुस्तक पढ्दा यो अरु नै कसैले लेखेको हो जस्तो लाग्छ । तर त्यसको घटना, हरेक हरफ आफुसँग मिलेको जस्तो लाग्छ । पुस्तक पढ्दा मैले कति संघर्ष गरेछु भन्ने लाग्छ । म संघर्ष गर्नै जन्मेको मान्छे हुँ । दुःख पाउनै जन्मेको हुँ । मान्छेले त्यत्रो दुःख सहजै थाम्न सक्दैन मैले असाध्यै दुःख पाएको छु । म आज जुन ठाउँमा पुगेको छु, त्यो संघर्ष सम्झिँदा पनि आनन्द लाग्छ ।

दुःखसँगै माया गर्ने साथी पनि भेटिने रहेछन् नी हैन ?

हो । समयले नै त्यो कुरा दिँदो रहेछ । मलाई दुःख पर्दा साथ दिने साथीहरु थिए । पछि व्यवसायमा साथ दिने मदन दाई जस्तो साथी भेटाएँ । मीरा जस्तो श्रीमती भेटाएँ । अहिले उसैको यत्रो वियोग भोग्नु पर्यो । त्यसपछि फेरि मैले रमिला पाएँ । समयले नै सबै थोक जुटाउँदै जाँदो रहेछ जस्तो लाग्छ ।

पुस्तकका हाँसउठ्दा कुरा ?

खोपासीमा महेश झण्डारीको घरमा बास बस्दा कुकुर बाँधेको थियो तल्लो तलामा । मलाईचाहिँ पिसाबले च्यापेको छ । त्यसपछि मैले झ्यालबाट नै पिसाव गर्न थालें । यो कुरा महेशको आमालाई अहिलेसम्म थाहा छैन । उहाँ अहिले पनि हुनुहुछ । अब पुस्तकको हल्लाखल्ला त हुन्छ । अब कसरी त्यो घरमा जाने ? जाँदा म टाउको निहुर्याएर बसिरहन्छु होला ।
अर्को बैंककमा एकजना मनाङ्गेको भरिया भएर जाँदा भारी बोकेका घटनाहरु पनि रमाईलो लाग्छ, ओहो त्यस्तो पनि भएको थियो भनेर । पहिले विदेश जान त्यत्रो रहर गर्ने मान्छे अहिले विदेशबाट कार्यक्रम गर्न बोलाउँदा जान पाईरहेको छैन ।
मेरो पुस्तकले जस्तोसुकै परे पनि हरेश खानुहुन्न भन्ने सन्देश दिन्छ । मैले त्यत्रो दुःख पाएँ तर मैले प्रयास गर्न कहिल्यै छोडिन । लगावका साथ काम गरेमा अवश्य सफल भईन्छ ।

पुस्तक कुन बेला लेख्नुभयो ? बिहान, बेलुका वा दिउसो ?

धेरैजसो दिउँसो नै लेखें । मीराले छोडेर गएपछि मलाई राति निद्रा नै लाग्दैनथ्यो । त्यसैले म बिहान चाँडै हिंड्थे । एकदिन राति चरा कराए । त्यसपछि उठेर लुगा फेरेर म घडी नै नहेरी हिंडे । म हनुमन्ते पुल नजिक पुग्दा क्याम्पस पढ्ने भाईबहिनीहरु भेटिन्थे । तर त्यो दिन कोही हिंडेको थिएन । आज किन यस्तो भयो भनेर घडी हेरेको त रातिको १ बजेको रहेछ । अरु समयमा भए मलाई डर लाग्थ्यो होला, तर मलाई त्यो दिन कुनै डर लागेन किनभनें सबैभन्दा ठुलो डर ज्यानको न हो । म मेरो ज्यान गए हुन्थ्यो भन्ने सोच्थें । त्यसैले कुनै डर लागेन ।

पुस्तक लेख्ने कुरा सुरुमा कसलाई भन्नु भयो ?

कसैलाई पनि भनिन । सुरुमा मैले मीरासँगको वियोगका कविताहरु लेखे । त्यस्तै १८, १९ वटा कविता लेखें होला । त्यसपछि मैले उसका कुरा लेख्न थालें । मैले पुस्तक लेख्छु भनेर लेख्न थालेको पनि होईन । आफ्नो गन्थन कसलाई सुनाउँ, सुनाउँदा पनि दिक्क हुन्छ सुन्नेलाई भनेर आफ्ना कुरा कापीलाई सुनाउँछु भनेर लेख्न थालेको हुँ । कापीलाई आफ्नो गन्थन सुनाईसकेपछि मन अलिक हलुका भएजस्तो हुन्थ्यो । आफुले लेखेको कुरा पढ्दा आँखा रसाएर आँशु तप्प चुहिन्थ्यो । अक्षरमा पर्दा त्यो फुलेर डम्म हुन्थ्यो ।
लेख्दै जाँदा डा. रवीन्द्र समीरले मलाई तपाईले पुस्तक लेख्नुपर्छ भन्नुभयो । मैले आफुले लेखेको कुरा उहाँलाई दिएँ । उहाँले पढेर राम्रो छ बाल्यकालका कुरा पनि केही लेख्न आग्रह गर्नुभयो । ६, ८ महिना जति पछि मन केही हलुंगो भयो, त्यसपछि मैले सबै कुरा लेख्दै गएँ । लेख्दै जाँदा ६० हजार जति शब्द तयार भएछ । त्यसपछि रवीन्द्रजीले मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेलाई भेटाईदिनुभयो । उहाँले धेरै कुरा मिलाई दिनभयो । उहाँहरुको सल्लाह पछि अरु कुरा पनि लेखें । उहाँहरुले होमवर्क दिए जस्तो हुन्थ्यो । लेख्दै जाँदा ७५ हजार शब्द पुगेछन् । त्यसपछि वियोगका कुरा अरुलाई धेरै सुन्दा पट्यार लाग्छ भनेर उहाँहरुले सुझाव दिएपछि हामी त्यसलाई घटाउन थाल्यौं । कविता सबै राख्न मन थियो तर तिनलाई पनि सबै राख्न पाईएन । ‘म अर्को जन्ममा देउता हुन्छु, देउतालाई मान्छे बनाउँछु’ भन्ने कवितालाई झिकिदिएकोमा मलाई चित्त दुख्यो । तर उहाँहरुले झिक्नुको अर्को पनि कारण छ भन्नु भयो । पछि मैले अलिकति महसुस पनि गरे । मैले लेखेको वियोगका कुरा ७५ प्रतिशत भिकियो, २५ प्रतिशत मात्र राखियो ।

नातिनीलाई गर्भ बोकाएर मार्नेलाई जन्मकैद

आफ्नै नातिनी नाता पर्नेलाई बलात्कार गरी गर्भवती बनाएर हत्या गर्ने एक नेतालाई जन्मकैदको सजाय भएको छ । यो भारतको घटना हो । भारतको मध्यप्रदेशका चर्चित डन नेता तथा पूर्व सांसद अशोक विर विक्रम सिंह उर्फ भैया राजाले जन्मकैदको सजाय पाएका हुन् । बहुचर्चित बसुंधरा हत्याकाण्डमा अशोक सहित अरु तिन जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
vaiya
सन् २००९ को डिसेम्बर ११ मा नातामा नातिनी पर्ने एक छात्रा वसुन्धराको बलात्कार गरी गर्भवती बनाएर गर्भपात समेत गराई गोली हानी हत्या गरेको आरोप अशोकमाथि लागेको छ । यो मामिलामा अशोक सहित उनका ड्राइभर भुपेन्द्र, पंकज शुक्ला, तथा छोटु अभिमन्यु समेत दोषी ठहर भएका छन् ।
अदालतमा अन्तिम सुनुवाइका क्रममा बसुन्धराका आमाले आफ्नी छोरीमाथि भैया राजाले पहिले देखि नै गिद्धे दृष्टि लगाउने गरेको बताउँदै छोरीलाई बचाउनका लागि भोपाल पढ्न पठाएपनि अपराधीले नछाडेको बताइन् ।

मंगल ग्रहमा छेपारो भेटियो ! (फोटो फिचरसहित)

पृथ्वीपछि जिवनको सम्भावना रहेको ठानिएको मंगल ग्रहमा आफुले छेपारो देखेको एक व्यक्तिले बताएका छन् । विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका एक जना जापानी युवाले यस्तो दाबी गरेका हुन् । निकै तिक्ष्ण दृष्टि संवेदना रहेका उनले मंगलको सतहमा छेपारो हिँडिरहेको देखेको दाबी गरेका हुन् ।
1
युएफओ साइटिङ डेलीको वेबसाइटमार्फ उनले यस्तो दाबी र्सार्वजनिक गरेको डेलीमेलले उल्लेख गरेको छ ।
उनको यो दाबीको कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भएपनि यसले कतिपयले अमेरिकी अन्तरीक्षा संस्था नासाले मंगल ग्रहमा जिव बाँच्न सक्ने नसक्ने कुराको परीक्षणका लागि त्यहाँ छेपारो छाडेको हुनसक्ने समेत टिप्पणी गरेका छन् ।
नासाले गएको मार्चमा र्सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी उनले गरेका छन् ।
4
युएफओ वेबसाइटका संचालक स्कट सी वारिङले वेबसाइटमा लेखेका छन्’एक जना जापानीले मंगल ग्रहमा अनौठो प्राणी देखेका छन् ।’
5
मंगल ग्रहमा अलिअलि पानी समेत रहेकाले यस्ता मरुभूमीय प्राणी पाउने सम्भावनालाई नकार्न नसकिने दाबी उनको छ ।

छोरा पाएर ट्वाइलेटमा फ्याँकेकी आमाले भनिन् : चिप्लिएर खस्यो

चीनमा ट्वाइलेटको पाइपभित्रबाट नवजात शिशुलाई जिउँदै उद्दार गरिएको घटना अहिले निकै चर्चामा छ । त्यो बच्चा कसले जन्माएर ट्वाइलेटमा फ्याँक्यो होला भन्ने कौतुहलता सबैमा रह▒े र त्यस्ती निष्ठूरी आमालाई धेरैले सरापे पनि । अन्ततः बच्चा जन्माएर ट्वाइलेटमा फ्याँक्ने महिला पक्राउ परेकी छिन् ।
समाचार अनुसार २२ वर्षी एक कुमारी आमाले छोरा जन्माएको एक दिनपछि ट्वाइलेटमा लगेर फ्याँकेकी रहेछिन् । उक्त घरमा डेरा लिएर बसेकी ती युवतीले गर्भ रहेको र बच्चा जन्माएको कुरा सबैलाई लुकाएकी रहेछिन् र बच्चा पाएको अर्को दिन ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेर बगाएकी रहेछिन् ।
bachha
अझ अनौठो कुरा त के भने फ्लस गरेर बच्चालाई बगाइदिएपछि उनी आफैले घरबेटीलाई खबर गरेकी रहेछिन् की ट्वाइलेटमुनि बच्चा रोइरहेको छ भनेर । त्यसपछि त्यहाँ ठूलो भिड जम्मा भयो र उद्दारकर्मीलाई खबर गरेर बच्चालाई सकुसल उद्दार गरियो ।
ती आमाले बच्चाको उद्दार भएको सबै दृश्य हेरिन् अनौठो मानेर । तर उनले नै बच्चा पाएर फ्याँकेको कुराको सुइँको कसैले पाउन सकेनन् । अन्ततः प्रहरीले त्यो घरका सबै कोठाको तलासी गर्दा ती महिलाको कोठाभित्र रगतले लत्पतिएका कपडा फेला परेपछि बल्ल उनको करतूतको पर्दाफास भयो ।
प्रहरीले ती महिलालाई पक्राउ गरेपछि उनले आफ्नो अपराध कबूल गर्दै आफुसँग गर्भपतनका लागि पैसा नभएकाले गोप्य रुपमा बाथरुमभित्रै बच्चा पाएको बताइन् । तर आफुले बच्चालाई कमोटमा राखेर फ्लस नगरेको दाबी गर्दै उनले बच्चा चिप्लिएर कमोटभित्र परेर खसेको र आफुले तत्कालै घरबेटीलाई खबर गरेको उनको भनाइ छ । घरबेटीले भने बाथरुमभित्र रगत लगायतका कुनै चिजवस्तु नरहेकाले उनले बाथरुममा बच्चा पाएको भनेर पत्याउन नसकिने भन्दै कोठामै बच्चा पाएर ट्वाइलेटमा लगेर फ्याँकेको दाबी गरेका छन् ।
२२ वर्षी ती कुमारी आमाविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चल्ने बताइएको छ । उनले त्यो बच्चाको बाउ को हो भन्ने कुरा भने खुलाएकी छैनिन् । निकै सप्रेको त्यो बच्चाको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

रेखा थापाको अनुहारमा गगन थापा

एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी नायिका रेखा थापा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको उमेरमा केही वर्षको फरक छ । गगन राजधानीमा जन्मेका हुन् भने रेखा मोरंगको गाउँमा । गगन नेपालको गणतान्त्रिक आन्दोलनबाट स्थापित नाम हो भने रेखाले गगनकै जति समय नेपाली चलचित्र क्षेत्रमा खर्च गरेर आफूलाई स्थापित गरेकी छन् । एउटै थर, तर लिङ्ग र भूमिकामात्रै फरक गरेका रेखा र गगन वीच भिन्नतामात्रै छैन, एकरुपता पनि छ ।

rekha-n-gagan
सिने क्षेत्रको दशक लामो लगानीलाई जोखिममा पारेर राजनीतिको दुर्गन्धमा हाम्फालेपछि रेखालाई आलोचना गर्नेहरु ह्वात्तै बढेका छन् । यता गगन थापा पनि राजनीतिमा खासै नयाँपन र फलता देखाउन नसकी आलोचनाको पात्र बन्न थालेका छन् । निश्चित छ, अब यी दुबै थापाहरुले एकै प्रकारको चुनौती र आलोचनाको सामना गर्नुपर्नेछ ।
गगन थापा
वि.सं ०३३ सालमा काठमाडौंमा जन्मेका गगनलाई लोकतान्त्रिक आन्दोलनले स्थापित गरेको हो । नेपाली कांग्रेसले राजतन्त्रको वकालत गरिरहेका बेला साहसपूर्वक गणतन्त्रको पक्षमा बोल्ने गगनले यही विचारका आधारमा राज्यद्रोहको मुद्दा पनि खेपे । ०६२/०६३ को आन्दोलनपछि समानुपातिकतर्फबाट सभासद बनेपछि गगनको व्यक्तित्व अरु चुलियो । संविधानसभामा खासै राम्रो भूमिका खेल्न नसके पनि गगनले नराम्रो काम अहिलेसम्म गरेका छैनन् ।
त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्ने गगनका धेरै साथीहरु यतिबेला अमेरिका र युरोपतिर छन् । उनीचाँहि यही गरीब देशमा बसेर केही गरौं, देशको मुहार फेरौं भन्ने भावना र आवेगमा राजनीतिमा होमिएका हुन् । एउटा युवाले आफूभित्र समाज र देशप्रति केही गर्ने उच्च आवेग नभई यस्तो निर्णय लिन सक्दैन । अझ काठमाडौंको मध्यम वर्गको परिवारमा जन्मिएको युवाले यस्तो चुनौतीपूर्ण बाटोको छनौट गर्नु चानचुने निर्णय होइन । गगनले विदेश जाने वा राम्रो सरकारी सेवामा लाग्ने वा व्यक्तिगत जीवन विलासितापूर्ण बनाउने आम मान्छेहरुको सपनालाई त्यागेकै हुन् । गगन थापाले जुन बाटो रोजेका छन्, यो धेरैले मन नपराएको र फोहोरी राजनीति भनेर घृणा गरिरहेको बाटो हो । गगनजस्ता युवा पुस्ताका मान्छेहरु यसरी राजनीतिमा आकिर्षत नहुने हो भने राजनीतिमा नयाँ पुस्ताको खडेरी पर्ने पक्कापक्की छ । राजनीतिमा गगनजस्ता युवाको प्रवेश राजनीतिकर्मीका खुशीको विषय पक्कै बन्नुपर्ने हो, बनिरहेको होला ।
गगनले चन्दा र कमिसनमा नभई आफ्नै पेशा/व्यवसायबाट राजनीतिमा टिक्ने उद्देश्य राखेर बाख्रापालन, मासु व्यवसाय, कुरिलो खेती इत्यादि गर्ने जुन प्रयत्न गरे, यसबाट उनले राजनीतिक वृत्तमा नयाँ सन्देश प्रवाह गर्न खोजेकै हुन् ।
तर, पछिल्लो समय गगनमा पनि केही सीमाहरु देखिन थालेका छन् । विगतमा राजा र राजतन्त्रको आलोचना गरेरै स्थापित भएका उनले आफ्नो पार्टी र संविधानसभामा खासै उल्लेखनीय करिस्म्याटिक भूमिका खेल्न सकेनन् । अहिले पनि उनी एमाओवादीलाई गाली गर्ने प्रतिक्रियात्मक राजनीतिमा बढ्ता अल्मलिन थालेका हुन् कि भन्ने देखिन थालेको छ । आफ्नै स्वतन्त्र विचारको विकासमा भन्दा पनि अरुबाट प्रभावित हुने क्रम उनमा बढेजस्तो देखिएको छ । सबैपक्षलाई मिलाउने स्टेटम्यासीप भन्दा पनि गुटपरस्त राजनीतितर्फ उन्मुख भएजस्तो देखिन थालेको छ ।
देशका लागि केही गरौं भन्ने आवेग गगनमा असाध्यै बढी छ, तर अब उनले आवेगसँगै विवेक प्रदर्शन गर्ने बेला आइसकेको छ र उनको व्यक्तित्व विकासका लागि अब निणर्ायक बिन्दु भनेकै यही विवेक नै ठहरिने छ । तथापि हामीले के भुल्न हुँदैन भने सिंगै राजनीति र पुराना नेतालाई जनताले तीब्र घृणा गरिरहेका बेला गगन थापाजस्ता युवा नेताहरु अझै पनि राजनीतिमै लागिरहनु भनेको भावी पुस्ताले अझै पनि राजनीतिप्रति थोरै आशा मारिसकेको छैन है भन्ने सन्देश हो । बाँकी चुनौती गगनकै जिम्मामा ।
रेखा थापा
गगनभन्दा एकवर्ष पहिले जन्मेकी नायिका रेखा थापाले चाँहि गगनले जसरी गणतन्त्र र राजनीतिक आन्दोलनमा भूमिका खेलेकी छैनन् । तर, उनीभित्रको आवेग गगनको भन्दा कम देखिएन । गाउँमा हुर्केकी केटीले चलचित्रकर्ममा यो ठाउँसम्म आइपुग्न गगनले भन्दा कम संघर्ष गर्नुपरेको छैन । युवापुस्ताले उनलाई ‘लभ-गुरु’ त्यतिकै मानेका हैनन् होला ।
पछिल्लो समयमा रेखाले श्रीमान छविसंग जुन किसिमको संघर्ष गरिन्, त्यसले उनलाई संघर्षशील र स्वाभिमानी नारीको रुपमा उभ्याएको छ ।श्रीमान्-श्रीमतीवीचको खटपटको विषय के थियो भन्ने कुरा गौण हो, रेखाले आफ्नो स्वतन्त्र छविका लागि जुन बाटो सामातेकी छन्, त्यसलाई अहिलेको युवापुस्ता, व्यक्तिगत स्वतन्त्रतावादी एवं महिला अधिकारवादीले समर्थन नगुर्नपर्ने कारण शायदै होला । पारिवारिक जीवन र प्रेमको सफलता/असफलता मानिसको नितान्त व्यक्तिगत विषय हो ।
पछिल्लो समय रेखाले राजनीतिमा लागेर समाज र देशको सेवा गर्ने गगन थापाको जस्तै सोचाइ बनाएको देखिन्छ, भलै उनको यो निर्णयमा विवेकको भन्दा आवेगको मात्र बढी देखिन्छ । तर यसले रेखा थापाभित्र पनि गगनको भन्दा कम आवेग छैन भन्ने पुष्टि गरेको छ । यद्यपि रेखाभित्रको आवेगले अहिलेसम्म गगन थापाको जसरी राजनीतिको वहावमा हेलिन, बग्न र पाक्न पाएको छैन ।
रेखा थापा राजनीतिमा प्रवेश गर्दा उनलाई गाली गर्नु र निराश पार्नु भनेको राजनीतिमा नयाँ मान्छेका लागि ढोका बन्द गर्नुसरह हो । अर्कै पेशा र क्षेत्रमा लागेर स्थापित भएको व्यक्ति राजनीतिमा प्रवेश गर्दा राजनीतिप्रतिको आकर्षण बढ्छ र यसले गर्दा राजनीतिलाई फोहोरी खेल भन्ने युवापुस्तामा पनि राजनीतिप्रति आकर्षण बढ्न सक्छ । यसले गर्दा राजनीतिमा राम्रा र केही गरौं भन्ने भावना बोकेका मानिसहरुको पनि आगमन हुन सक्छ । त्यसैले जुनसुकै पार्टीको माध्यमबाट भए पनि राजनीतिमा युवा पुस्ताको आकर्षण लोकतन्त्रका लागि सकारात्मक विषय हो ।
गगन थापा एक/डेढ दशक पहिल्यै राजनीतिमा लागे । रेखा थापा धेरै पछिमात्रै यतातिर लागिन् । गगन राजनीतिमा केही गर्न नसकेर छटपटाउने बेला भैसकेको छ, तर रेखा के-के न गरौंला भन्दै उत्साही बनेकी छन् ।
रेखा थापाले कुन पार्टी रोजिन्, त्यो प्रमुख कुरा होइन । गगन थापा कांगेसमा छन् कि कम्युनिष्ट पार्टीमा छन्, त्यो पनि ठूलो विषय होइन । रेखाले पनि गगनले जस्तै राजनीतिको फोहोरमा हात चोपिन्, योचाँहि ठूलो कुरा हो । निकै ठूलो आवेग र पागलपनविना मान्छेले यस्तो जोखिम मोल्दैन । रेखालाई चलचित्र कर्ममा नपुग्दो थिएन । गगन थापालाई पनि जीवनमा नपुग्दो केही थिएन । रेखा थापा र गगन थापाहरु किन अझै राजनीतिमा लाग्दैछन् ? यो चाँहि हाम्रो देश र समाजका लागि निकै महत्वपूर्ण कुरा हो ।
कमसेकम दलका नेताहरुले रेखा थापा राजनीतिमा आउँदा उनलाई व्यंग्य गर्नुको साटो स्वागत गर्नुपर्ने हो कि ? ताकि, बागमतीको फोहोरमा पस्न तयार नायक राजेश हमालहरु पनि राजनीतिको फोहोर बागमतीमा पस्न तयार बनून । र, रेखा थापाहरुका अनुहारमा नयाँ गगन थापाहरु देखिन थालुन् ।
जबसम्म राजनीतिमा नयाँ पुस्ताको आकर्षण देखिँदैन, तबसम्म राजनीतिको बागमती सङ्लो हुन असम्भव छ । रेखा आफैंमा केही होइनन्, तर एउटा मिथकचाँहि अवश्यै हुन् । उनमा राजनीतिको ज्ञान गगनमा जति छैन, तर उनी जोदाहा युवती चाँहि पक्कै हुन् । फोहोर देख्दादेख्दै राजनीतिमा हाम्फाल्ने दुस्साहसी नै हुन् उनी । अधिकांश मानिसहरु डिलमा बसेर फोहोर पार्नेहरुलाई गाली गरिहेका छन् । तर, के वागमतीमा नपसी डिलबाट मात्रै त्यसलाई सफा पार्न सकिन्छ ? अहिले यही प्रश्नमा चर्चित बैंकर्स अनील शाहहरुले पनि बहस गरिरहेका हैनन् र ?
source:onlinekhabar.com

कोरियाली भाषा परीक्षा अक्टुवरमा

 दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैजान लिने कोरिया भाषा परीक्षा -केएलटी) अक्टुबरमा गर्ने तयारी गरेको छ । कोरियाले यस बर्षको भाषा परीक्षामा करिब ८ हजार २ सय नेपालीलाई उत्तीर्ण गर्ने भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा कोरिया मानब संसाधन विकास (एचआरडी) ईपीएस सेन्टर नेपालका निर्देशक लि दोङ सिर्कले यस बर्षको कोरिया भाषा परीक्षा अक्टुबरमा गर्ने तयारी भइरहेको जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । ‘मे २१ तारिखमै भाषा परीक्षा गराउने गरी मिति तोक्ने तयारी थियो,’ उनले भने, ‘तर, नेपालको श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले धेरै कामदार कोरिया जाने योग्यसूची (रोस्टर) मा रहेकाले अहिले नगर्न आग्ह गरेपछि केही समय धकेलिएको हो ।’
अक्टुबरमा भाषा परीक्षाको तयारी भएको भन्दै निर्देशक सिर्कले श्रम मन्त्रालयसँग छलफल गरेर मिति तय गरिने जानकारी दिए ।

सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ४६ नेपालीको मृत्यु

 नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले चुरोट, बिँडी, सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीज्न्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण बाषिर्क १७ हजारभन्दा बढीको ज्यान जाने गरेको बताइएको छ ।
hhdfaसंगठनले कुल जनसंख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको जनाउँदै प्रयोगकर्ताको संख्या बढ्दो अवस्थामा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । त्यस मध्ये २३ दशमलब ८ प्रतिशतले धुपमान अर्थात चुरोट बिँडीको मात्रै प्रयोग गर्ने पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बर्षअघि गरेको अध्ययनबाट ग्रामीण क्षेत्रमा ३३ प्रतिशत सहरी क्षेत्रमा २० प्रतिशत महिला सुर्तीजन्य पदार्थको अम्मली रहेको देखाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित अर्को तिथि अन्योलमा, विद्यार्थी संगठनद्वारा विरोध

 त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र मुख्य विद्यार्थी संगठनका प्रतिनिधिबीचको छलफलमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भएको हो । चुनावी कार्यक्रम अनुसार बिहीबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने तालिका थियो ।

‘विद्यार्थी संगठनहरुबीच सहमति नभएपछि २३ गतेको चुनाव स्थगित भएको छ’ त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद शाखाका प्रमुख गंगाबहादुर थापाले अनलाइनखबरसित भन्नुभयो-’अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको छ ।’ विद्यार्थी संगठनहरुबीच सहमति भएर छिटो चुनाव भएमा अहिलेको प्रकृया फेरि शुरु हुने उहाँले जानकारी दिनुभयो । तर, अर्को चुनावको तिथि कहिले टुंगो लाग्छ भनेर यसै भन्न नसकिने उहाँको भनाइ छ ।
‘तालाबन्दी खोल्ने बिषयमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भयो’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले अनलाइनखबरसित भन्नुभयो- ‘अहिलेसम्मका सबै गृहकार्य र मेहनत खेर गयो ।’ चुनाव स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकअर्कालाई दोष लगाएका छन् । एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र बैद्य माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले आआफ्नो पकड भएका क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेपछि समस्या उत्पन्न भएको हो । तर सबैले आफ्नो संगठनबाट नभएर अर्को विद्यार्थी संगठनले फर्जी भर्ना गरेको आरोप लगाएका छन् ।
यसैवीच स्ववियु स्थगन गर्ने बैठकमा सहभागी भएको एमाओवादी समर्थित अखिल क्रान्तिकारी स्ववियु चुनाव स्थगनको विरोध गरेको छ । ‘जुनसुकै हालतमा पनि चुनाव गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’- क्रान्तिकारीका केन्द्रीय नेता मदन अर्यालले अनलाइनखबरसँग भन्नुभो । त्यसैगरी एमाले अनेरास्ववियू नेतृ राधिका खड्काले पनि चुनाव स्थगनको विरोध गर्दै अर्को तिथि तत्काल तोकिनुपर्ने बताउनुभएको छ ।
उता नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ऋषिकेश शाहले दुई अखिलका कारण स्ववियु निर्वाचन स्थगित भएको आरोप लगाउनु भयो । शाहले अनलाइनखबरसंग भन्नुभयो,’दुई अखिलका कारण चुनाव स्थगित भएको हो । हामीलाई यो स्विकार्य छैन । हामी नेविसंघ अब कडा आन्दोलनमा जान्छौ ।’ चुनाव स्थगन गर्ने बैठकमा एमाओवादी, एमाले, कांग्रेस र वैद्य माओवादी समर्थित विद्यार्थी संगठनका नेताहरुको सहभागिता थियो ।

Tuesday, May 28, 2013

पाँच ‘छुद्र शव्द’ जसले दाम्पत्य जिवनमा आगो लगाउँछन्

भनिन्छ बोलेको बोली र बन्दुकको गोली फिर्ता ल्याउन सकिँदैन । बोली नै हो जसले पराइलाई आफ्नो बनाउँछ । तर यहीँ बोली कहिलेकाहीँ विष बन्छ र आफ्नोलाई पनि पराइ बनाउँछ । बोलीमार्फत नै सम्बन्ध गाँसिन्छ र सम्बन्ध टुट्छ पनि । आखिर बोल्ने शव्दहरु सिमित छन् । तर ती शव्दहरु कसरी, कहिले, कुन सन्दर्भमा र को सँग प्रयोग गर्ने ? भन्ने कुराको विचार पूराइएन भने दुर्घटना पनि निम्ताउन सक्छ । वास्तवमा सुखद दाम्पत्य जिवनलाई भताभुंग पार्न र पारापाचुके तर्फ डोर्याउन पनि यस्तै शव्दहरुको बोलीले भूमिका खेल्छ ,
fightशोधकर्ताहरुले यस्ता पाँच शव्द पत्ता लगाएका छन् जसको गलत प्रयोगले वैवाहिक सम्बन्धलाई ध्वस्त बनाउँछ । ती शव्दहरु निम्नानुसार छन् :
१.कदापि : यसले आशावीहिनता तथा विकल्पवीहिनतालाई संकेत गर्छ । जब तपाइँ आफ्नो जिवनसाथीसँग कदापि शव्दको प्रयोग गर्नुहुन्छ तब तपाइँले ऊ खराब मान्छे रहेको, कदापि असल बन्न नसक्ने तथा परिवर्तनको कुनै आशा नभएको आरोप लगाउनुहुन्छ । यस्तो निरस तथा अप्रिय शव्दयुक्त बोली तपाइँको जिवनसाथीको मन भाँच्न पर्याप्त हुनेछ जसले अन्ततः वैवाहिक जिवनलाई तोड्न मलजल पूराउनेछ ।
२.सदैव : यो कठोरता तथा आफु सधै ठीक रहेको भन्ने भाव झल्काउने शव्दको रुपमा प्रयोग हुनसक्छ । जब तपाइँले सदैव शव्दको प्रयोग गर्दा आफ्नो पार्टनर गलत रहेकेा र आफु सदैव ठीक रहेको कुरा दोहोराउनुहुन्छ अनि पार्टनरलाई सुधार्न आफुले केही गर्न नसक्ने लाचारी पनि देखाउनुहुन्छ । यसले बुझाइ, सिकाइ तथा पीडा वा चोटमा मलहम लगाउने जस्ता कुनैपनि उपायलाई ठाउँ दिँदैन । तब वैवाहिक सम्बन्ध किन नटुंगियोस् ?
३.तर : यसले बनाबटी कुरालाई संकेत गर्छ र सदाचारको अभाव झल्काउँछ । जब तपाइँले तर शव्दको प्रयोग गर्नुहुन्छ तब तपाइँले विगतमा के भएको थियो तथा के भनिएको थियो भन्ने कुरालाई उपेक्षा गर्नुहुन्छ । यो शव्दलाई सही कुरालाई समेत गलत रुपमा परिणत गर्नमा प्रयोग गर्नुहुन्छ । यो शव्दले सौहार्दता, विश्वास जस्ता कुरालाई कुनै स्थान दिँदैन । तर जस्तै यद्यपि र तथापि पनि यस्तै छुद्र शव्दहरु हुन् ।
४.आमाचकारी गाली : यो सबैभन्दा अप्रिय शाव्दिक गाली हो । यसले पार्टनरको मन सहजै भाँचिदिन्छ । झगडालाई मलजल गर्छ । नामै उच्चारण गरेर गरिने आमाचकारी गालीबाट पार्टनरको मनमा पर्ने क्षतिको उपचार हुन गाह्रो हुने मनोविज्ञहरु बताउँछन् ।
५.पारापाचुके : डिभोर्स शव्दलाई बारम्बार प्रयोग गर्नुभयो, पार्टनरलाई डिभोर्सको धम्की दिनुभयो, अब डिभोर्सको विकल्प रहेन भनेर जपिरहनुभयो भने बुझ्नुहोस् तपाइँको वैवाहिक सम्बन्ध छिटै टुंगिनेवाला छ । डिभोर्स निकै गम्भीर निर्णय हो । यसलाई नियन्त्रणको औजारको रुपमा प्रयोग गर्नखोज्दा त्यसले निरासा तथा अविश्वास सिर्जना गर्छ । सौहार्दता घटाउँदै अन्ततः सम्बन्ध विच्छेदको चरणमा पूराउँछ ।

ट्वाईलेटको पाईपबाट नवजात शिशुको जीवितै उद्दार

ट्वाईलेटको पाईपबाट नवजात शिशुको जीवितै उद्दार (भिडियोसहित)

 चीनको एक अपार्टमेन्टको शौचालयको पाईपबाट एक नवजात शिशुलाई जीवितै उद्दार गरिएको छ । जन्माएर फालिएको अवस्थामा बाबु–आमा पत्ता नलागेका उक्त नवजात शिशुको जीवितै उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको झेजियाङको पूर्वी प्रान्त जिन्हुवाको एक ट्वाईलेटको पाइपबाट उद्दारकर्मीले दुई दिनको नवजात शिशुलाई जीवितै उद्दार गरेका हुन् । समाचारका उक्त अपार्टमेन्टको चौंथो तलामा रहेको ट्वाईलेटबाट शिशु रोएको आवाज सुनेपछि स्थानीयले उद्दारकर्मीलाई खबर गरेका थिए ।

उद्दारकर्मीले फालिएको अवस्थामा ती शिशुलाई जीवितै ट्वाईलेटको पाईपबाट निकालेका हुन् । ट्वाईलेटमा छिरेका ती शिशुलाई लगभग एक घण्टाको मिहिनेतपछि उद्दार गर्न उद्दारकर्मी सफल भएका जनाइएको छ ।

सालनालसहित उद्दार गरिएका ती शिशुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । २ दशमलव ३ किलोग्रामका ती शिशुको अनुहारमा चोट रहेको बताइएको छ । शिशुको अवस्था अहिले भने सामान्य भएको र उपचार चलिरहेको जनाइएको छ ।

प्रहरीले शिशुको बाबु–आमाको खोजी गरिरहेको छ । चीनमा एक शिशु नीति रहेको छ भने कहिले–काँही सामाजिक तथा आर्थिक परिस्थितिका कारण शिशु त्याग्ने गरेको पाइने गरेको छ ।

Sunday, May 26, 2013

तक्मे बूढाको कथा


एकदिन सानी बहिनीले आमा खोजिन्, विल्सनले सुनेको जवाफ दिए, आमा स्टार अर्थात् तारा बन्नुभयो नानी, अब हामीले आमालाई देख्न सक्छौं तर आमाले हामीलाई देख्न सक्नुहुन्न, आमाले देख्ने बन्न स्टार हुनुपर्छ। त्यसपछिको झन्डै दुई दशकको डेरा यात्रामा उनी आफैं आमा भेट्न स्टार बन्ने सपना देख्न थाले।  गत वर्षसम्म पनि विल्सनविक्रम राई नेपाली कलाकारिताको फाँटमा चिनिएको नाम थिएन, तर एक वर्षयता कार्यक्रमकै सिलसिलामा उनी २४ वटा मुलुक पुगिसकेका छन्। मेरी बास्सैमा तक्मे बूढाको चरित्रमा गरेको अभिनयले उनलाई एकाएक चम्किलो संसारमा स्थापित गराएको हो।  मेरी बास्सैको तक्मे बूढापछि सुरज सुब्बाद्वारा निर्देशित चलचित्र सायदले उनलाई सफलताको अर्को स्वाद चखायो। चलचित्र रिदमपछि उनले आधा दर्जन चलचित्रमा नायकका रूपमा काम गरिसकेका छन्।

एक दशकभन्दा लामो समयदेखि उनी लगातार यो क्षेत्रमा आबद्ध रहँदै आएका छन्। 'धैर्यता नगुमाए दिन आउँदो रहेछ, म पनि बीचमा एकपटक नहुने रै'छ भनेर विचलित हुन लागेको थिए' विल्सन भन्दै थिए- 'क्लिक हुन समय लाग्यो।' लाहुरे पृष्ठभूमिका तक्मे बूढा गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व हुन्। लाहुरे बूढाका रूपमा विल्सनले गरेको अभिनय अहिले पनि त्यससँग सम्बन्धित परिवारहरूका लागि आफ्नै कथा बनेको छ। 'मैले त एउटा चरित्रका रूपमा तक्मे बूढाको अभिनय गर्ने सोच बनाएको थिए, विल्सन भन्छन्- 'तर यो त ती हजारौं लाहुरेको रूप र रंगको कथा रहेछ।'  फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी हामी गाउँघरमा देखिरहेका हुन्छौं। तक्मे बूढाका रूपमा विल्सनले त्यही भूमिका निर्वाह गरेका मात्र हुन्। उनी राम्रा गायक पनि हुन्। विल्सन भन्छन्- 'आगामी दिनमा म फरक-फरक भूमिकामा आफ्ना दर्शकलाई सन्तुष्टि दिने योजनामा छु। विल्सन तक्मे बूढाकै शैलीमा ठट्टा गर्दै भन्छन्- 'आखिर इमान, इज्जत र पेस्टिजको कुरा पनि त आउँछ नि हौं।'

दुःखदायी बाल्यकाल

डिल्लीबहादुर राई र स्व. कमला राईका सुपुत्रका रूपमा ०४३ सालमा झापाको चारपानेमा जन्मिएका विल्सनका दुई बहिनी छन्। आमाको मृत्युपछि अध्ययनलाई नियमित रूपमा अघि बढाउन विल्सन असफल भए, उनका बुबाले सवारी चालक पेसा अँगाल्दै आएका छन्। ड्राइभरको छोरा भए पनि बिर्तामोडको स्थापित बोर्डिङ स्कुल लिटल फ्लावरमा अध्ययन गर्ने अवसर पाए। 'आमा बितेपछि मेरो स्कुले अध्ययन 'डिस्टर्ब' भयो,' विल्सनले सम्भिmए- 'बहिनीहरूका निम्ति खाना बनाउने, लत्ता-कपडा धोइदिने जस्ता काममा व्यस्त भए, होमवर्क गर्न नसकेपछि स्कुल बंकको श्रृंखला सुरु भयो।' 

राम्रो विद्यालयमा अध्ययन गरेको फाइदा अहिले देशविदेश पुग्दा आफ्ना साथीभाइ भेट्न पाएको तथा उनीहरूको राम्रो व्यवहार पाएको उनी सुनाउँछन्। मोटे गुरुजीका छोराका रूपमा परिचित विल्सनका सहपाठीहरू भने झापाका उच्च स्तरका कर्मचारी तथा सम्पन्न परिवारका सदस्य हुन्थे। 'ममीको इच्छा छोरालाई राम्रो स्कुलमा पढाएर ठूलो मान्छे बनाउने थियो,' नोस्टाल्जिक हुँदै विल्सनले भने- 'ममीको त्यो इच्छा पूरा गर्न म असमर्थ भए, तर चर्चित मानिस बन्ने हुटहुटीले मलाई कलाकार बनायो।' 

आमा बितेपछि दैवले आफूहरूलाई ठगेको महसुस गर्थे। आमा बितेको दिन उनले त्यो वर्षको क्यालेन्डर जलाएका थिए। 'म तनावमा हुन्थें, आफैं सानो थिएँ, अनि म भन्दा साना बहिनीहरू पनि थिएँ' भन्दा उनका आँखाका डिलमा आँसु भरिदै गए- 'बुबाले बाहिर हिँडिरहनुपथ्र्यो, अनि घर कसले सम्हाल्ने ?' मेरा निम्ति पढाइभन्दा घर सम्हाल्नु महत्वपूर्ण थियो। एसएलसी एपियर गरे पनि त्यसभन्दा अघि बढ्न सकिन्।'

कलाकार बन्ने हुटहुटी

स्टार बन्ने सपनाकै कारण उनी कलाकारितातर्फ लागेका थिए। त्यति नै बेला लक्ष्मीनाथ शर्मा निर्देशित चलचित्र 'साथी' को सुटिङ बिर्तामोड आसपासमा भैरहेको थियो। उनी सुटिङ भएका हरेक स्थानमा पुग्थे। लगातार हप्ता दिन स्पटमा पुगेपछि उनले १० वर्षे उमेरमा बालकलाकारका रूपमा एक सट अभिनय गर्न पाए। राजेश हमालसँग त्यतिबेला बि्रटिस अंग्रेजीमै कुरा गरेको उनी अहिले पनि सम्झन्छन्। चलचित्रको लत बसेपछि उनी नबिराई बिर्तामोडमा प्रदर्शन हुने चलचित्र हेर्न जान्थे। साथी चलचित्रका निर्माता शेखर कोइरालाका छोरा संजोग कोइराला एउटै उमेरका भएकाले उनका साथी बनिसकेका थिए। उनले सिफारिस गरेपछि विल्सनले दीपक आलोकको चलचित्र परदेशीमा पनि सानो भूमिका पाए।

त्यही समयमा विर्तामोडमा शिखर साँझको आयोजना भयो। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा गायक राम श्रेष्ठ कार्यक्रममा सहभागी थिए। राम श्रेष्ठले सि यु अन सन्डे गाउँदा स्टेजमा गएर विल्सनले उत्कृष्ट नृत्य प्रस्तुत गरे। मह जोडी उक्त नृत्यबाट प्रभावित भए, उनीहरूले आफू बसेको होटलमा लगेर उनलाई भोजन गराए। 'म पनि सानैमा आमा-बुबा गुमाएको व्यक्ति हुँ भन्दै उहाँहरूले माया गर्नुभयो' विल्सन सुनाउँदै थिए- 'मदन दाइ, किरण केसी दाइ पनि टुहुरो भएको र टुहुरोका दिन पनि आउँछ भनेर उहाँहरूले भनेको अहिले पनि सम्झन्छु।' महदेखि राजेश हमालका अघि पुगेर कुराकानी गरेको भनेर विल्सनलाई उनीहरूले काठमाडौं लादैछन् भन्ने व्यापक हल्ला चलेको पनि उनी सम्झन्छन्। उनी गाउँमा हुने पूजादेखि व्रतबन्ध पुराण बिहेसम्म, देउसी भैलोदेखि छठ पूजासम्मका कार्यक्रमहरूमा सरिक हुन थालिसकेका थिए। गाउनेदेखि अभिनय गर्ने, नाच्नेसम्मका क्रियाकलापमा उनी सक्रिय थिए। गाउँ, स्कुल, छिमेकी गाउँ हुँदै, जिल्ला र पूर्वाञ्चलभरि हुने विभिन्न कार्यक्रममा उनी आफ्नो प्रतिभा देखाउन अघि सर्थे।

काठमाडौं प्रवेश

१५ वर्षे किशोर उमेरमा अब काठमाडौं जानुपर्छ, त्यहाँ पुगेपछि त कलाकार भैहालिन्छ भनेर उनले झापा छोड्ने निर्णय लिए। उनी काठमाडौं आए तर अब गर्ने के ? सहरमा दुई-चार दिन रल्लिएपछि एक जना दाइको सहारामा उनी डान्स रेस्टुराँ पुगे। काठमाडौंमा डान्स रेस्टुराँको ट्रेन्ड भर्खरै सुरु भएको थियो। सहरमा रात छिप्पिदै जाँदा उनी बानेश्वरको चम्किलो डान्स फ्लोरमा उत्रन्थे। 'कालो भादगाउँले टोपी मेरो शिरैमा ढल्केको' भुवन केसीको चलचित्र नेपाली बाबुको यो गीतमा उनले मोहक नृत्य प्रस्तुत गरेपछि स्टेजमा भरर पैसा झथ्र्यो। तर लक्ष्य अभिनय गर्ने थियो, रातभरि रेस्टुराँमा र दिनभरि कहाँ सुटिङ छ भन्ने कुरा खोज्दै उनी भौंतारिन्थे। 'चोभारमा सुटिङ हेर्थे, डाइरेक्टरहरूसँग म पनि कलाकार हुँ भनेर भेट्थे, नायक नायिकाहरूसँग पनि कुरा गर्थे' विल्सनले भने- 'दुई वर्ष यसरी नै वित्यो।' विल्सनका अनुसार रेस्टुराँमा कोरसका लागि कलाकार खोज्दै आउँथे, त्यसमा सबैभन्दा अगाडि उनी सर्थे, थुप्रै चलचित्रमा उनले कोरस डान्स प्रस्तुत गरे। एकपटक एक जना निर्देशकले चलचित्रमा अभिनय गर्ने अवसर दिने कुरा गरे। त्यसका लागि उनीसँगै तीन महिना बस्नुपर्ने सर्त थियो। 'भाइलाई राम्रो रोल निकालौंला, मसँग बस, मलाई खाना बनाउन, लुगा धुन सहयोग गर है' उनलाई के खोज्छस् कानो जस्तो लाग्यो। 'तीन महिना उसको घर सफा राख्ने, खाना बनाउने, भाँडा मोल्ने लगायतका सबै काम गरे, दिनभरि सुटिङमा सहयोग गर्ने र घर आएपछि घरको काममा भिड्ने, सुटिङ सकियो तर मेरो रोल निस्किएन।' निर्देशकले त्यो बेला भनेको कुरा पनि उत्तिकै गुन्जिरहन्छ- 'भाइलाई हिरोको साथी राखौं भने राम्रोसँग जुँगा पनि आएको छैन, वाल कलाकारका रूपमा अभिनय गराउँ भने तन्नेरी भैसक्यौ, त्यो पनि मिल्दैन, यसपटक रोल निकाल्नै गाह्रो भयो।' भाँडा मोलेर बिताएका ती दिनहरू सम्भिmएर थकथकिँदै उनी आफैं साइड लागे। एकातर्फ हरेकलाई भेटेर वा कोरसमा नाचेर पार नलाग्ने भैसकेको थियो अर्कातर्फ उमेर बढेकाले स्टेजमा पैसा पनि र्झन छोडेको थियो, उनी फेरि विरक्तिए। उनले झापा नै र्फकने निर्णय लिए।

इस्टर्न प्यालेसको डान्सर

झापामा डान्स रेस्टुराँ इस्टर्न प्यालेस सञ्चालनमा आएको थियो। सञ्चालक राजेन्द्र लिङ्देनले डान्स रेस्टुराँमा नाच्ने-गाउने कामको जिम्मेवारी उनलाई दिए। प्यालेसमा काम गर्दा गर्दै लिम्बू भाषाको म्युजिक भिडियोका लागि एउटा युनिट सिक्किम जाने तयारीमा थियो। मेकअप म्यान र असिस्टेन्टका रूपमा उनलाई अफर गरियो। त्यही समयमा विल्सनले चलचित्रकर्मी सुवास मेचे र भीम मुखियासँगको सहकार्यमा चलचित्र पाण्डवको निर्देशन पनि गरे।  झापा छोडेर उनी पुनः काठमाडौं आए। त्यसपछि चलचित्रमा जे भेट्यो त्यही काम गर्न थाले। उनी प्रोडक्सन असिस्टेन्ट, डाइरेक्सन असिस्टेन्ट, क्लाप ब्वाइ लगायतका सबै काम गर्न तयार हुन्थे तर उनको एउटा सर्त हुन्थ्यो, हस मालिक वा पानी ल्याइदिनेजस्ता एकसिनका लागि भए पनि मौका दिनुपर्ने। गायक श्रीकृष्ण लुइँटेलसँग मिलेर च्यानल नेपालका निम्ति हास्यश्रृंखला आयो बोके दाह्रीका निम्ति पनि उनले काम गरे। यसबीच उनी स्टेजमा चढेर जोक्स सुनाउँदै हसाउने काममा पनि सक्रिय भैसकेका थिए।

यहीबीच प्रज्ञा जोशीले निर्माण तथा योगेश घिमिरेले निर्देशन गरेको चलचित्र सम्झनाबाट अभिनयको अफर आयो। आयो बोके दाह्रीमा गरेको तेस्रोलिंगीको चरित्र सम्झनामा दोहोरिएपछि तेस्रोलिंगीको भूमिकाका लागि लगातार अफर आउन थालेको थियो। पछि तितो सत्यमा पनि तेस्रोलिंगी बनेर अभिनय गरे। 'तेस्रोलिंगीको भूमिका गर्दागर्दै मलाई सबैले तेस्रो लिंगी नै हो भन्ने थालेपछि भने म  डराए' उनले हाँस्दै भने- 'त्यही ट्रेडमार्क बस्ला भनेर त्यस्तो भूमिका सधैंलाई छोड्ने निर्णय लिए।' 'मलाई भ्रम हुन थालेको थियो, मलाई अब सबैले कलाकारका रूपमा चिन्न थाले जस्तो लाग्यो,' उनी भन्दै थिए- 'त्यसपछि मास्क लगाएर हिड्न थालें, पब्लिक प्लेसमा फेस गर्न गाह्रो हुन्छ भन्ने गफ दिँदै मास्कमा हिडिरहेको थिए, तर मलाई त आफ्नै छिमेकीले पनि कलाकारका रूपमा चिन्दा रहेनछन्। अब म सबैले चिन्ने गरी कसरी काम गर्ने होला भनेर सोच्न थालेको थिए।' विल्सनका अनुसार नेपाली कलाकारले मास्क लगाउनु भ्रम मात्र हो, अहिले सबैले चिन्ने भैसक्दा पनि उनी मास्क लगाउँदैनन्। पब्लिक प्लेसमा मास्क नलगाई हिँड्दा झनै स्नेह पाएको उनको अनुभव छ। विल्सन भन्छन्- 'कुखुरा चोरेको होइन, बाँकी खाएको होइन, कसैलाई ठगेको पनि छैन किन लगाउनु मास्क ? सबैले चिनिने बन्नुपर्छ भनेर यो फिल्डमा कम्मर कसेर लाग्ने अनि कसैले चिनेर फर्केर हेर्दा वा के छ भनेर मायाले सोध्दा किन अफ्ठयारो मान्नु ? यो त खुसीको कुरा हो नि अहिले सबैले चिनेर कुरा गर्दा गर्व महसुस हुन्छ।'

एल्बमको भूत

स्टेज पर्फमेन्सदेखि चलचित्रसम्मको यात्रा तय गर्दा पनि नभएपछि उनी हास्य गायनमा लागेका थिए। त्यही भएर उनले कमेडी गीतको एल्बम सार्वजनिक गरे। एल्बममा सोलेको चर्चित गीत ए दोस्ती हम नहि तोडेंगेको नेपाली रिमेक पनि थियो जसले केही चर्चा पायो। एल्बममा पनि उनले भनेजस्तो सफलता पाएनन् तर अहिले त्यतिबेला निकालेको उक्त एल्बम नै उनको बिग प्रोपर्टी भएको छ। स्टयान्डअप कमेडी र प्रहसनसँगै उनी उक्त एल्बमको गीत पनि गाइहाल्छन्। अहिले युट्युबमा भएका उनका गीत लोकपि्रय भैसकेका छन्। विल्सन भन्छन्- 'विगतमा आफ्नै सन्तुष्टिका लागि सिकेका तथा गरेका कार्यहरू मेरा निम्ति बलियो कन्टेन्ट भएका छन्, यी सबै कुरा गर्दा स्टेजमा म एउटा व्यक्ति विभिन्न स्वरूपमा देखा पर्छु, मेरा दर्शकले म बाट खोजेजति मनोरन्जन पाउनुहुन्छ।

वैदेशिक रोजगारी टर्निङ प्वाइन्ट

सबै क्षेत्रमा हात हाले पनि वा धेरै कुरा गरेपनि कतै पनि सफल हुन नसकेपछि एक दिन विल्सनले निष्कर्ष निकाले, म यो फिल्डका लागि जन्मिएको रहेनछु। दुई पटक काठमाडौं छोड्ने निर्णय लिँदा पनि कलाकार बन्ने हुटहुटी कायम राख्नु ठीक छैन भन्ने उनलाई लाग्यो। उनी झापा गए। बहिनीहरू ठूला हुँदै थिए, घरका लागि कमाउने छोरो चाहिएको थियो, यसकारण कमाउन के गर्ने ? वैदेशिक रोजगारीका लागि मलेसिया जाने निर्णय लिए उनले । मासिक ३० हजार रुपैयाँ कमाउने काम पाएपछि उनी मलेसिया उडे। 'यो कुरा म पहिलो पटक मिडियालाई भन्दैछु,' विल्सन भन्छन्- 'मेरा विषयमा नजिकबाट जान्नेहरूले पनि यो कुरा थाहा पाएका छैनन्। मलेसिया पुगेपछि पाउने तलब त जम्मा २० हजार मात्र रहेछ, उनले असन्तुष्टि जाहेर गरे तर उनी नेपाल फर्किन कम्तीमा तीन महिना बस्नैपथ्र्यो, जसरी पनि र्फकने भनेपछि नेपाल आएर एजेन्टसँग मलेसिया गएको पैसा नखोज्ने भनेर एक साता धेरै परको जंगलमा राखेर लिखित पत्रमा हस्ताक्षर गराए। त्यतिबेला म धेरै रोए, उनी भन्दै थिए, नेपालमा कलाकारका रूपमा गरेको सबै काम सम्भिmए। कसरी फेरि नेपाल र्फकने होला भन्ने मात्र सोचिरहन्थे।' एक साता पाउरोटी र पानी खाएर बिताएको त्यो समय उनका निम्ति अहिले पनि पीडादायक लाग्छ।

त्यही बीच कलाकार विल्सन विक्रम राई वैदेशिक रोजगारमा आएको छ भनेर हल्ली खल्ली मच्चिएछ। कलाकार पनि वैदेशिक रोजगारीमा आएको भन्दै उनलाई भेट्न आउने, सँगै बसेर तस्बिर खिच्ने क्रम सुरु भयो। चलचित्र सम्झना, नबिर्से तिमीलाई, हास्यश्रृंखला बोके दाह्री आदिका भिसिडी मलेसियाको बजारमा पनि पुगेका रहेछन्। 'मैले त कर्म मात्र गरेछु अनि फलको प्रतीक्षा नगरी हिँडेछु,' उनी भन्दै थिए- 'अटोग्राफ लिनेहरूको भीड बढ्न थालेपछि मात्र महसुस भयो, म आखिर सही कर्ममै रहेछु।'

मलेसिया यात्रा उनको जीवनको टर्निङ प्वाइन्ट थियो, जसले उनले गलत मानेको निर्णयलाई उल्टाइदिएको थियो तर जाँदाको ऋण तिर्ने चुनौती तेर्सिरहेको थियो। सबैले यसले कसरी ऋण तिर्छ भन्दै थिए। किन फर्किएको? यो प्रश्नको सामना गर्न उनीसँग गतिलो जवाफ थिएन्। गोजीमा एक पैसा नभएपनि फर्किएपछि मनमा चाहिँ उमंग थियो, राईले भने- 'नेपाल आइपुग्नेबित्तिकै महोत्सवका निम्ति अवसर पाए। त्यसपछि त अफरको सानोतिनो बाढी नै चल्यो। महोत्सवहरूमा दौडने क्रममा सुरज सुब्बा नाल्बोले चलचित्र सायदका निम्ति अफर गर्नुभयो। चलचित्रमा यो मेरो पुनर्जन्म थियो।

सायद र तक्मे बूढा

९८४१ बाँकी सबै आफै हान, विल्सनले सायदका लागि बोलेको यो डायलगको प्रोमो पनि हिट भैसकेको थियो। त्यो चलचित्र बेलायतमै हेरेपछि त्यहाँ बस्दै आएका सञ्चारकर्मी लेक्स लिम्बुले नेपाल आएको समयमा विल्सनको अन्तर्वार्ता लिए, जुन युट्युबमा राखिएको थियो। साथसाथै स्टान्डअप कमेडीका रूपमा चारवटा जोक्सका फुटेज पनि लेक्सले लिएर गएका थिए। युट्युबमा ती सबै कन्टेन्ट राखिएपछि तिनीहरूका भ्युअर्स यसरी बढेकी ग्लोबल्ली नेपाली डायास्पोरामा पर्फ]{ट कमेडियन र राम्रा कलाकारका रूपमा उनी परिचित भए। नेपालमा नचिने पनि रातारात युट्युबबाट हिट भएर उनी विदेशमा लोकपि्रय भए।

विल्सन ११ दिने केरखा, झापा महोत्सवमा कार्यक्रम सञ्चालक तथा कमेडीयनको भूमिकामा व्यस्त थिए। सायद नेपालमा प्रदर्शन भैसकेको थिएन। एक दिनको कार्यक्रममा मेरी बास्सैका माग्ने बूढा अर्थात् केदार घिमिरे पुगे। केदारजीले महोत्सवमा मेरो प्रस्तुति हेरेर हुन सक्छ, मसँग नम्बर माग्नुभयो, काठमाडौं आउँदा भेट्न भन्नुभयो, तपाईं के-के गर्नुहुन्छ भनेर सोध्नुभयो, म त्यतिबेला सुरज सुब्बा नाल्बोकै चलचित्र फेसबुकका लागि अभिनय गरिरहेको थिए, त्यही भनें। काठमाडौं आएपछि केदारजीसँग भेट भयो। मैले लाहुरे तक्मे बूढाको सोच अघि सारें, केदारजीले उक्त चरित्रलाई जन्माइदिनुभयो, मेरी बास्सैमा। त्यसयता म निरन्तर तक्मे बूढाका रूपमा मेरी बास्सैमा अभिनयरत छु। विल्सन भन्छन्- 'चाँडै मेरी बास्सैमा नयाँ भूमिकामा पनि देखा पर्ने योजना बनाएको छु।'

नामको किस्सा

विल्सनका बुबाले छोरो जन्मिएपछि वेल सन अर्थात् राम्रो छोरो विक्रम राई भनेर उनको नाम वेलसन विक्रम राई राखेका थिए, तर स्कुल भर्ना गर्दा वेलसन विल्सनमा परिणत भयो। विल्सन विक्रम राई नाम उनलाई अहिले जोडसँग फापेको छ। विल्सनका अनुसार बाबाले दिएको नामले भिजा लाग्न उत्तिकै सजिलो भएको छ। युरोपियन वा अमेरिकन लाग्ने नाम भएर पनि होला। भिजादेखि इमिग्रेसनसम्म कतै पनि रिजेक्ट हुनु वा सास्ती भोग्नुपरेको छैन। कल्चरबाट समूहगत रूपमै नृत्य गर्ने कलाकार लगिने भएकाले उनी कल्चरमा डान्स सिकाउने देखि पासपोर्ट कलेक्सन सम्मका सबै काम गरिदिन्थे तर हरेक पटक तिम्रो भिजा लागेन भनेर कोक ख्वाएर टार्थे। किन मेरोचाहिँ भिजा लाग्दैन नि ? एक कल्चरका मालिकले भनें, तिम्रो नाम नै भिजा नलाग्ने कारण हो, नाम नै क्रिस्चियन रहेछ, कहाँ मुस्लिम मुलुकमा भिसा लाग्छ त ? त्यो जवाफ सही हो कि भनेर उनले चित्त बुझाए तर अहिले धेरै मुस्लिम मुलुकमा पनि उनी पुगिसकेका छन्। कुनै समस्या आएको छैन्।

लोकपि्रयता र भ्रमण

तक्मे बूढाले लोभलाग्दो लोकपि्रयता कमाएका छन्। समकालीन हास्यकलाकारहरू पनि यो कुरा मान्छन्। सन् २०१२ मार्च ७ देखि २०१३ मार्च ७ सम्ममा उनले २४ वटा राष्ट्रमा आफ्नो प्रस्तुति दिइसकेका छन्। विल्सनका अनुसार उनी यहाँसम्म आइपुग्न विगतमा गरेको दुःखको ठूलो हात छ। विल्सन भन्छन् — 'मेरी बास्सैमा काम गरेपछि मेरो जिन्दगीमा धेरै परिवर्तन आयो तर म परिवर्तन भएको छैन्, व्यक्ति विल्सन हिजो जे थिए, आज पनि त्यही छु र भोलि पनि त्यही नै रहनेछु।'

विल्सनका किस्साहरू

हिङकङको कार्यक्रममा तक्मे बूढाको प्रस्तुति देखेर एकजोडी दम्पती आफ्ना सन्तानलाई लिएर विल्सन भएको ब्याकस्टेजमा आइपुगे। बाजेलाई ढोग दम्पतीले यति भन्न नभ्याउँदै साना नानीहरूले थपक्कै विल्सनलाई ढोगिदिए। विल्सन अक्क न बक्क भए। खास कुरा दम्पतीले तिमीहरूका हजुरबुबा यस्तै थिए भनिदिएकाले बाजे मानेर उनीहरूले ढोगेका रहेछन्।

किार्यक्रमको सिलसिलामा इजरायल पुग्दा इमिग्रेसनले तक्मे बूढालाई रिंग्यायो। कोटभरि उनेका तक्मा देखेर तिमी कुन देशको सैनिक हौ ? उनीहरूले प्रश्न गरे। आफू कलाकार भएको तक्मेको भनाइ थियो तर इमिग्रेसनका अधिकारी मान्न तयार भएनन्। धन्न युट्युबमा पासपोर्टमा उल्लेखित विल्सन नाममै कमेडीको भिडियो भएकाले अन्तत उनीहरूले छोडे। नत्र विदेशी सैनिक इजरायल आएको भनेर अनुसन्धानका लागि हिरासतमा लाने प्रवल सम्भावना थियो।

 तिक्मे बूढाले पूर्वेली लाहुरेहरूको प्रतिनिधित्व गरेको भनेर पूर्वका लिम्बूहरू दंग पर्छन्। ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार प्रवेश गर्दा तक्मे डाँडा नाम गरेकै ठाँउ छ। लिम्बूहरूको बाहुल्य रहेको ताप्लेजुङेहरूले बोल्ने लाखे है जस्ता लवज टिपेकाले पनि उनीहरूका निम्ति विल्सन पि्रय भएका हुन्। तक्मेडाँडामा बस्ने तक्मे बूढाको स्टाइल लिएको किस्सा पनि छ। राइको छोरो लिम्बुको भान्जो भनेर आफुलाई चिनाउने विल्सन गुरुङ, तामाङहरू पनि आफन्त भएको किस्सा स्टेजमा सुनाइरहन्छन्।

तिक्मे बूढाको चरित्रको भूमिका देवान बाबैका रूपमा चिनिने झापा अर्जुनधाराका एक लाहुरेबाट प्रभावित भएर गरेको विल्सन बताउँछन्। भुवनसिंह देवान एमाले नेता एवं साहित्यकार प्रदीप नेपालका ससुरा हुन्। विल्सनका अनुसार फकल्यान्डको युद्धमा सामेल भएका देवान बा युद्धकालीन समयको वृत्तान्त यसरी नै सुनाउँछन्।

- विल्सनका सम्बन्धमा प्रतिक्रिया -

तक्मे बूढालाई मैले अत्यन्तै मिलनसार व्यक्तिका रूपमा पाएँ। बालश्रमविरुद्ध सचेतना फैलाउने विज्ञापनमा अभिनय गरिदिन हामीले उहाँलाई अनुरोध गरेका थियौं। काम गर्न पनि उहाँ साह्रै सजिलो हुनुहुँदो रहेछ। विल्सन भाइ छोटो समयमै स्थापित कलाकार हुनुभएको छ। जातपातका कुराको विरोध गर्ने मानिस, समावेशीको कुरा आइरहेको यो समयमा रंगमञ्च अनि पर्दामा पनि समावेशी अनुहार देख्न थालिएको छ। कलाकार भन्नेबित्तिकै आर्यन फेस अगाडि आउने अवस्था विल्सन भाइहरूको उपस्थितिले कम हुनेछ। रंगमञ्चदेखि टेलिभिजनस्त्रिmनसम्म उहाँ फिट देखिनुहुन्छ। टेलिभिजनमा उहाँको प्रस्तुति केही लाउड लाग्छ, तर ठीक छ। विल्सन भाइले ह्युमरमा मात्र होइन, क्यारेक्टर रोलमा पनि राम्रो सम्भावना देखाउनुभएको छ। उहाँका लागि केदार भाइले राम्रो प्लेटर्फम उपलब्ध गराउनुभएको हो र पाएको प्लेटर्फमलाई विल्सनले पनि राम्रोसँग सदुपयोग गर्न सक्नुभएको हो। उहाँको सबल पक्ष भनेको आत्मविश्वास हो।

हरिवंश आचार्य, अभिनेता

स्ट्रगल गर्दाको समयदेखि नै म उसलाई चिन्छु। सुरुमै यो मानिस डायनामिक छ भन्ने लागेको थियो, त्यही भएर मैले उसलाई 'सायद' मा लिएँ। त्यतिबेला धेरैले मेरो कुरा काटे। सानोतिनो रोलमा काम गर्नेलाई किन मेन रोलमा लिएको भन्ने प्रश्न धेरैको थियो। मैले प्रोड्युसरसहित सबैलाई कन्भिन्स गरे। कुनै पनि कलाकार अनुहारमा 'ट्यालेन्ट'को साइन बोर्ड बोकेर हिँडेको हँुदैन। सायदमा विल्सनलाई झिक्यो भने सायद सायद नै हुन्छ। विल्सन लामो रेसको अब्बल घोडा हो, ऊ कहिल्यै थाक्दैन। म चाँडै उसलाई सोलो लिएर काम गर्दैछु। कलाकारभन्दा पनि मुख्य कुरा ऊ असल मानिस हो। अहिले मैले मात्र होइन, विल्सनलाई लिएर काम गर्ने सबैले उसको प्रशंसा गर्छन्। मैले चलचित्र 'फेसबुक'मा पनि उसलाई काम गराएँ। उसले डाइरेक्टरलाई आफ्नो क्यारेक्टरसँग सम्बन्धित रहेर चाहिने इलिमेन्ट जोड्न पनि सहयोग गर्छ। चरित्रमा भिजेर काम गर्छ।

सुरज सुब्बा नाल्बो, चलचित्र निर्देशक

मैले आठ वर्षअघि विल्सनको निर्देशनमा बनेको चलचित्र 'पाण्डव' का लागि गीत गाएको थिएँ, भाइको प्रतिभा बहुआयामिक लाग्थ्यो। सानो उमेरमै उसले धेरै कुरा जानेको थियो। चलचित्र क्षेत्रमा ऊ छिट्टै स्थापित हुने चाहना राख्थ्यो। मैले समय आउँछ, एक-दुई वर्ष काम गर्दैमा सफलता हात परिहाल्दैन भनेर ढाडस दिएको थिएँ, तर ऊ काठमाडौंको संघर्ष छोडेर झापा फर्कियो। त्यो बीचको समयमा उसले आफूलाई अझ ग्रुम गरेछ। हास्यकलाकारका रूपमा पनि उस्तै गजबको पर्फर्मेन्स दिन थालेको देख्न थालें। केही समयअघि म उसलाई हङकङ लिएर गएको थिएँ, जहाँ उसले सफल प्रस्तुति दियो, मलाई पनि गर्व लाग्यो। अझै सफल कलाकारका रूपमा उसले चर्चा कमाउँदै जाओस् भन्ने मेरो शुभकामना छ।

राजेश पायल राई, गायक

विल्सनमा एउटा कलाकारमा हुनुपर्ने सबै गुण छन्। शिष्ट, नम्रतका साथै मेहनती र सधैं जागरूक रहने व्यक्ति हो ऊ। आलस्य भन्ने शब्द उसमा लागु हुँदैन। हरेक भेटमा केही न केही नयाँ कुरा बडो जोसका साथ सुनाउने। केही समयअघि केरखा महोत्सवमा धेरैलाई भन्दा पनि अवसर नपाएको विल्सनले स्टेजबाट भनेपछि मैले काठमाडौं आएर भेट्न प्रस्ताव गरेको थिएँ। विल्सनले देखाएका विभिन्न क्यारेक्टरमध्ये लाहुरेको चरित्र उत्तम छ जस्तो लागेको थियो। तक्मा र ड्रेस व्यवस्थापन गरेर आएपछि मैले उक्त चरित्रलाई मेरी बास्सैमा जन्माएँ। मैले सोचेको पनि थिइनँ, यसले यति लोकपि्रयता पाउला भनेर। धेरै मानिस म कलाकार बन्न चाहन्छु भनेर आउँछन् तर विल्सन अरूभन्दा फरक छ। धेरै परिपक्व कलाकार। हालै विल्सनसँग जोडी बनाएर म विभिन्न देशमा कार्यक्रम गरेर फर्किएँ, त्यहाँ पनि विल्सनको क्रेज अचम्मको पाएँ। टिममा विल्सनलाई राखेर काम गर्दा छुट्टै किसिमको मज्जा छ। मेरी बास्सैलाई धेरै फाइदा भएको छ, राम्रो कलाकार पाएर। मैले पनि राम्रो सहयोगी साथी पाएको छु।

केदार घिमिरे, हास्यकलाकार

धेरै वर्षअघिदेखि नै चिनजान थियो, पहिलो भेटमै मैले भर्सटाइल आर्टिस्टका रूपमा विल्सन भाइलाई चिनें। अभिनयदेखि लिएर चलचित्रको प्राविधिक पक्ष पनि बुझेको, गाउने, नाच्ने, कमेडी सबै क्षेत्रमा पोख्त छ विल्सन। वास्तवमा ऊ कम्प्िलट प्याकेज हो। कमेडी र अभिनयमा उसले राम्रो चर्चा पाएको छ। मैले अभिनय गरेको चलचित्रको गीत मखमली पछ्यौरीमा उसले नाचेको देख्दा मलाई एकदमै रमाइलो लागेको थियो। उक्त नृत्य हेरेपछि मैले उसलाई बोलाएर धन्यवाद दिए। मैले उसलाई कुनै दिन तिमी सुपरस्टार बन्छौ भनेको थिएँ र त्यो समय आएको पनि बताएँ। आज विल्सनको प्रगति देखेर आफ्नै भाइको सफलताजस्तो अनुभूति हुन्छ। उसको एउटा प्रतिभाको पक्ष अझै ओझेलमा छ- ऊ राम्रो गायक पनि हो। उसले गीत-संगीतमा पनि उत्तिकै मन जित्न सक्छ।

बुद्धको मूर्ति अन्तर्राष्ट्रिय अदालतमा राखिने

पिस प्यालेसले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्) रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
bhudha पिस प्यालेसको स्वामित्व लिएको कर्नेगी फाउण्डेशनले अनुमति दिएपछि आगामी जुन तेश्रो साता स्वीट्जरल्याण्डमा हुने एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन अघि १९ जुनमा प्रतिमा राख्ने तय भएको एनआरएन आइसीसी, बुद्ध प्रतिमा प्रतिस्थापन समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जनाए । त्यहां राख्न २ दशमलब ५ फिट अग्लो प्रतिमा चार लाख अ ८० हजार रुपैयांमा खरिद भइसकेको जनाउंदै श्रेष्ठले बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलमार्फत् बुद्धको प्रतिमा हस्तान्तरण गरिने बताए । प्रतिमा न्यायाधीशहरु रहेको भवनको तेश्रो तल्लामा राखिने छ ।
कसरी सफल भयो योजना ?
सन् २००५ डिसेम्बर पहिलो साता हो । बेलायतस्थित युनिभर्सिटी अफ ससेक्सबाट अन्तर्राष्ट्रिय अपराध कानुनमा एलएलएम गर्दै गर्दा श्रेष्ठ शैक्षिक भ्रमणका सिलसिलामा हेगस्थित पिस प्यालेस भवन पुगेका थिए । उनले सन् १९१३ मा निर्मित उक्त प्यालेसभित्र विश्वकै ख्यातिप्राप्त व्यक्तिहरुका पूर्ण तथा अर्धकद शालिकहरु बडो आकर्षक ढंगले राखिएको देखे । नेल्सन मण्डेला, नेहरु, महात्मा गान्धीको शालिक, अर्जेन्टिनाले दिएको क्राइष्ट, अमेरिकाले दिएको न्यायमुर्ति, अफ्रिकाबाट प्राप्त हात्तीको पूर्ण दुईवटा दाह्रा, चीनले दिएको ठूला गलैंचा लगायत असंख्य उपहार भेटेपनि नेपालको केही नाम निसाना थिएन । उनी घोत्लिए, ‘पिस प्यालेसमा वुद्धको मुर्ति राख्न पाए कति सान्दर्भिक हुन्थ्यो होला ?’
समय बित्दै जांदा १७ अक्टोबर २०११ का दिन नेपाल सरकारले सन् २०१२ लाई लुम्विनी भ्रमण वर्ष मनाउने निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ ।

लडाकूलाई काँग्रेस बनाउन खोज्दा गगनमाथि हमला

एमाओवादीको गढ मानिने रुकुममा पूर्वलडाकूलाई नेपाली काँग्रेसमा प्रवेश गराउन पुगेका काँग्रेस युवा नेता गगन थापामाथि वाइसिएलले कार्यक्रमस्थलमै आक्रमणको प्रयास गरेका छन् । gagan-thapa-1रुकुमको ग्राइलाको बेलटापूमा आइतबार नेपाली काँग्रेस रुकुमले आयोजना गरेको आमसभामा प्रमुख अतिथिका रुपमा थापा सहभागी कार्यक्रमलाई वाइसिएलले बिथोलेका हुन् ।
सभामा १५ जना पूर्वलडाकूसहित एमाओवादीका केही कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रम चलिरहेका बेला वाइसीएल नेता केदार विष्टको नेतृत्वमा आएका वाइसियल कार्यकर्ताले मञ्चमै ढुंगा प्रहार गरी थापामाथि आक्रमणको प्रयास गरेका हुन् । शुरुमा वाइसिएलले ढुंगा प्रहार गरेपछि वाइसीएल र काँग्रेस कार्यकर्तावीच केहीबेर दोहोर ढुंगा हानाहान भएको थियो । वाइसीएलले कार्यक्रम बिथोलेपछि बेलटापुको स्थिति तनावग्रस्त बनेको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको स्थानीय पत्रकार लक्ष्मण केसीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

वाइसीएलले कार्यक्रमस्थलमा राखिएका काँग्रेसका झण्डासमेत फालिदिएका छन् भने माइकलगायतका सरसामानमा क्षति पुर्याएका छन् । प्रमुख अतिथि बनेका थापालाई भने प्रहरीको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ
बाबुलाई घर प्रवेशमा रोक

संखुवासभाको नुममा दलित किशोरीसँग विवाह गरेको भन्दै आफ्नै छोरा–छोरीले घर प्रवेशमा रोक लगाएका छन्। जिल्लाको नुम–६ का ६७ वर्षीय कृण्णबहादुर पराजुलीले आफूभन्दा ५३ वर्ष कान्छी १४ वर्षीय समिता विकसँग प्रेमविवाह गरेको भन्दै घर प्रवेशमा रोक लगाएका हुन्। उनीहरूले बाबुलाई घर प्रवेशमा रोक लगाएपछि घरनजिकैको बारीमा पाल टाँगेर दुःख–कष्ट साथ गुजारा गर्दै आएको पीडित पराजुलीले गुनासो गरेका छन्। उनले छोरा भोलामानलगायत नाति अम्मरबहादुरले घर प्रवेश गर्न नदिएको बताएका छन्। पराजुलीले ०६३ सालमा श्रीमतीको मृत्यु भएकाले जीवनसाथी खोज्ने क्रममा ६ महिना अगाडिदेखि समितासँग प्रेम बसी अहिले गर्भ रहेपछि विवाहबन्धनमा बाँधिएको बताएका छन्।
भोजपुरको उत्तरी क्षेत्र दिङला स्थीत कुलुङ गा बि स मा रहेको बिरेन्द्र उच्च मा बि को ५२ औ बार्षिक उत्सव बिबिध कार्यक्रमका साथ सम्मपन्न भएको छ । बिद्यालयको प्रधानअध्यापक जुद्धबहादर चौहानको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व जलश्रोत मन्त्री मुकुन्द बहादुर बस्नेत रहनु भएको छ । सो अवसरमा अन्तर प्रा बि लोक नृत्य प्रतियोगीतामा प्रथम सिंहमालीका प्रा बि काम्लेटार, दितीय कुलुङ ईङ्लीस बोर्डीङ  स्कुल, तृतिय हिमाल चरि प्रा बि कुलुङ रहेको शिक्षक हरि गौतमले जानकारी गराउनु भयो । सो अवसरमा प्र अ जुद्धबहादुर चौहानले ४४ लाख आय र ४३ लाख ब्याय बरावरको आर्थिक प्रतिबेदन प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । बार्षिक उत्सवमा नेकपा एमाले कुलुङका कुलबहादुर घले, नेपाली कांग्रेसका पुष्प बहादुर रोक्का, एकिकृत माओवादिका सुर्य दाहाल नेकपा माओबादीका कमल बिक लगायत बिद्यालयका शिक्षक अबिभावक बिद्यार्थी बुद्धिजीवी एबं शिक्षा पे्रमीहरुको सहभागीता रहेको थियो ।
Template Design by Cool Blogger Tutorials | Published by Templates Doctor
Powered by Blogger